भारतले ओडिशाको तटबाट लामो दूरीको हाइपरसोनिक एन्टी-शिप मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ । रक्षा अनुसन्धान र विकास संगठनद्वारा विकसित अत्याधुनिक मिसाइलले १,५०० किलोमिटरको दूरीमा रहेको आफ्नो लक्ष्यलाई अत्यन्तै सटिक रूपमा प्रहार गर्न सफल भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यो सफल परीक्षणसँगै समुद्रमा भारतको रक्षात्मक पहुँच र रणनीतिक क्षमतामा एक नयाँ कोसेढुंगा थपिएको समाचारमा उल्लेख छ ।
यो मिसाइल विशेष गरी म्याक ५ भन्दा बढी र अधिकतम म्याक १० सम्मको अत्यन्तै उच्च गतिमा लक्ष्यहरूलाई ध्वस्त पार्न डिजाइन गरिएको हो । परीक्षणको क्रममा यसको उन्नत टर्मिनल मार्गदर्शन प्रणालीको शुद्धता प्रमाणित हुनुका साथै प्रक्षेपणदेखि अन्तिम प्रभावसम्मका सबै प्राविधिक उद्देश्यहरू सफलतापूर्वक पूरा भएका छन् । उडानको बीचमा दिशा परिवर्तन गर्ने क्षमता र निरन्तर उच्च-वेग कायम राख्नु यस मिसाइलको मुख्य विशेषता हो । यो परीक्षणले भारतीय रक्षा प्रविधिको आत्मनिर्भरता र भविष्यको युद्धका लागि आवश्यक तयारीलाई थप बलियो बनाएको समाचारमा जनाइएको छ ।