
इरानले अमेरिकाको पछिल्लो शान्ति प्रस्तावको जवाफ पाकिस्तानमार्फत पठाएको छ ।
इरानी सरकारी प्रसारक आइआरआईबीका अनुसार तेहरानले पाकिस्तानी मध्यस्थकर्तामार्फत आफ्नो प्रतिक्रिया पठाएको हो । जवाफमा इरान र उसका सहयोगी समूहहरूमाथिको आक्रमण रोक्नुपर्ने, विशेषगरी लेबनानमा युद्ध अन्त्य गर्नुपर्ने तथा ‘ढुवानी सुरक्षा सुनिश्चित गर्नुपर्ने’ विषयलाई प्राथमिकतामा राखिएको बताइएको छ ।
शनिबार राति इरानी ड्रोनले खाडी क्षेत्रका विभिन्न लक्ष्यमा आक्रमण गर्ने चेतावनीबीच अमेरिकाले इरानसँग शान्तिका लागि पठाएको प्रस्तावको जवाफ आएको हो ।
शान्ति वार्ता र छलफल जारी रहे पनि तेहरानले कुनै पनि नयाँ अमेरिकी आक्रमणको प्रतिकार गर्न पछि नहट्ने जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट शुक्रबारसम्म जवाफको अपेक्षा गरेको बताएका थिए । प्रतिक्रिया ढिलो हुँदै जाँदा खाडी क्षेत्रमा युद्धविरामका बीच तनाव बढ्दै गएको छ । आइतबार भएको ड्रोन हमलामा कतारको बन्दरगाहतर्फ गइरहेको एउटा मालवाहक जहाजमा क्षति पुगेको जनाइएको छ ।
संयुक्त अरब इमिरेट्सले उक्त आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाएको छ । पुष्टि भएमा युद्धविराम सुरु भएयता खाडी मुलुकमाथि भएको यो दोस्रो आक्रमण हुनेछ ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियनले आइतबार “हामी शत्रुसामु कहिल्यै झुक्दैनौँ । वार्ता वा छलफलको अर्थ आत्मसमर्पण वा पछि हट्नु होइन,” भने ।
यसैबीच, तेहरानका सेना प्रमुख अलि अब्दोल्लाहीले सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट गरी ‘शत्रुसँग लड्न अपरेसन जारी राख्ने’ सम्बन्धी नयाँ निर्देशन प्राप्त गरेको बताएका छन् ।
उता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्ध अन्त्य हुनुअघि संवर्धित युरेनियमको भण्डार इरानबाट हटाइनुपर्ने बताएका छन् । सिबिएसको ‘सिक्स्टी मिनेट्स’ कार्यक्रममा प्रसारण हुने अन्तर्वार्तामा उनले अझै केही आणविक सामग्री र संवर्धन केन्द्र बाँकी रहेको दाबी गरेका छन् ।