२८ जेठ २०८३, बिहीबार

पेट्रोलियम पदार्थको कम प्रयोग गरी विदेशी विनिमय बचत गर्न भारतका प्रधानमन्त्री मोदीको निर्देशन

बैशाख २७, २०८३
काठमाडौं
पेट्रोलियम पदार्थको कम प्रयोग गरी विदेशी विनिमय बचत गर्न भारतका प्रधानमन्त्री मोदीको निर्देशन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यासको सकेसम्म कम प्रयोग गर्न जनतालाई अपिल गरेका छन् । उनले यसले विदेशी विनिमयको बचत हुनुका साथै विश्व युद्धजस्तो अवस्थाको प्रभाव पनि कम हुने बताएका छन् ।

मध्यपूर्वमा जारी सङ्कटका बीच उनले भारतले पेट्रोलियम पदार्थको विकल्पका रूपमा सौर्य ऊर्जा, इथानोल, सीएनजी र पाइप्ड ग्यासलाई बढावा दिइरहेको बताए । हैदराबादमा करिब ९ अर्ब ४० करोड भारतीय रुपैयाँ बराबरका परियोजनाको उद्घाटन र शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मोदीले भारतले ठूलो परिमाणमा पेट्रोलियम पदार्थ विदेशबाट आयात गर्ने भएकाले आवश्यकता भन्दा बढी प्रयोगले देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने उल्लेख गरे । उनले विश्व अहिले ऊर्जा सङ्कटबाट गुज्रिरहेको र मध्यपूर्वको तनावले अवस्था अझ जटिल बनाएको बताए ।

उनले पेट्रोलियम पदार्थको बुद्धिमानीपूर्वक प्रयोगले विदेशी विनिमय बचत मात्र नभई युद्ध र विश्वव्यापी संकटको प्रभाव पनि कम गर्न सकिने धारणा राखे ।

प्रधानमन्त्री मोदीले पछिल्ला वर्षमा भारत सौर्य ऊर्जाको क्षेत्रमा विश्वका अग्रणी देशमध्ये परेको उल्लेख गर्दै पेट्रोलमा इथानोल मिश्रणको काम तीव्र गतिमा अघि बढाइएको बताए ।

सरकारले देशका हरेक घरमा एलपी ग्यास पुर्‍याउने कामसँगै अब पाइपबाट सस्तो दरमा ग्यास उपलब्ध गराउने र सीएनजी प्रणाली विस्तार गर्ने काम पनि अघि बढाइरहेको उनले बताए । यी प्रयासले भारतलाई ऊर्जा सङ्कटको सामना गर्न सक्षम बनाएको उनको भनाइ थियो ।

कार्यक्रममा उनले तेलङ्गानाका मुख्यमन्त्री ए. रेवन्त रेड्डीलाई केन्द्रसँग समन्वय गरेर काम गर्न सुझाव दिएका छन् । साथै, राज्य र केन्द्रबीच सहकार्य भए मात्र देशको विकास सम्भव हुने उल्लेख गर्दै ‘विकसित भारत २०४७’ को लक्ष्य हासिल गर्न सामूहिक प्रयास आवश्यक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्