
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी स्रोतबाट आएको बजेटको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिएका छन् ।
सुर्खेतको बराहताल गाउँपालिका–८ मा नवनिर्मित वडा कार्यालयको उद्घाटन गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय तहबाट प्राप्त बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वडा तहको महत्वपूर्ण भूमिका रहने बताए । उनले सरकारी स्रोतबाट आएको बजेट सबै नागरिकले आफ्नो सम्पत्ति सम्झेर संरक्षण र सदुपयोग गर्नुपर्ने उल्लेख गरे ।
“जनप्रतिनिधि र कर्मचारीको काम राम्रो भए जनताले विश्वास गर्छन्,” मुख्यमन्त्री कँडेलले भने, “सार्वजनिक पद धारण गर्नेहरूले जनतालाई विश्वास दिलाउन सक्ने गरी काम गर्नुपर्छ ।”
उनले विकास निर्माणका योजना पारदर्शी र परिणाममुखी ढङ्गले अघि बढाउन जनप्रतिनिधि तथा स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको बताए । सूचना र प्रविधिको पहुँच बढेकाले अब काममा ढिलासुस्ती वा बहाना गर्न नसकिने उल्लेख गर्दै उनले जनताले सरकारका गतिविधि नजिकबाट नियालिरहेको बताए ।
मुख्यमन्त्री कँडेलले भने, “आफ्नो ठाउँको विकास आफैँले गर्ने हो । समय बिताउने कि सम्झनलायक काम गर्ने भन्ने कुरा अब तय गर्नुपर्छ । राम्रो काम गर्नेलाई जनताले आफैँ नेतृत्वमा ल्याउँछन् । विकासलाई साझा अभियानका रूपमा अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्छ ।”