२९ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री मोदीले किन गरे सुन नकिन्न र खाने तेल कम प्रयोग गर्न अपील ?

बैशाख २८, २०८३
काठमाडौं
प्रधानमन्त्री मोदीले किन गरे सुन नकिन्न र खाने तेल कम प्रयोग गर्न अपील ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको विदेशी मुद्रा सञ्चिति बचाउनका लागि नागरिकहरूसँग एक वर्षसम्म सुन नकिन्न र खाने तेलको खपत कम गर्न विशेष अपील गरेका छन् । 

आइतबार तेलङ्गानाको सिकन्दराबादमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री मोदीले विश्वमा चलिरहेको युद्ध र आपूर्ति श्रृंखला (सप्लाई चेन) मा आएको अवरोधका कारण भारतको अर्थतन्त्रमा दबाब परेको उल्लेख गरे । 'भारतसँग ठूला तेलका कुवाहरू छैनन् । हामीले आफ्नो आवश्यकताको पेट्रोल, डिजेल, ग्यास र मल ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्छ,' उनले भने, 'युद्धका कारण यी वस्तुहरूको मूल्य आकाशिएको छ ।'

उनले खाने तेलको आयातमा पनि ठूलो विदेशी मुद्रा खर्च हुने गरेको बताउँदै तेलको कम प्रयोग गर्दा 'देश सेवा' र 'देह सेवा' (स्वास्थ्य) दुवै हुने तर्क गरे ।
सुनको आयातले विदेशी मुद्रा भण्डारमा ठूलो असर पार्ने भन्दै मोदीले भने, 'आज देशलाई सुन दान गर्नुपर्ने अवस्था छैन, तर देशहितका लागि हामीले यो वर्ष घरका कुनै पनि कार्यक्रममा सुनका गहना नकिन्ने संकल्प गर्नुपर्छ । विदेशी मुद्रा बचाउनका लागि हाम्रो देशभक्तिले हामीलाई चुनौती दिइरहेको छ ।'
प्रधानमन्त्रीको यो बयानको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले कडा निन्दा गरेको छ । कांग्रेस महासचिव केसी वेणुगोपालले सरकारले आर्थिक संकट समाधानका लागि ठोस कदम चाल्नुको साटो जनतालाई नै समस्यामा पारेको आरोप लगाए । उनले भने, 'यो गैर-जिम्मेवारपूर्ण अभिव्यक्ति हो । प्रधानमन्त्रीले आफ्नो असफलता लुकाउन नागरिकमाथि बोझ थुपार्दै हुनुहुन्छ ।'

सन् २०२५ देखि नै सुनको मूल्यमा ऐतिहासिक उछाल आएको छ । इरान, इजरायल र अमेरिकाबीचको बढ्दो तनावका कारण विश्व बजारमा अस्थिरता छाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय नीतिहरू र डलरको घट्दो प्रभुत्वका कारण लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुनमा लगानी बढाएका छन् । यसबाहेक, भारत र चीन लगायतका केन्द्रीय बैंकहरूले पनि डलरको विकल्पमा सुनको भण्डारण बढाउँदा अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य कीर्तिमानी स्तरमा पुगेको छ ।

यस्तो समयमा मोदीको यो अपीलले भारतमा सुनको माग र आयातमा कस्तो प्रभाव पार्छ भन्ने कुरा चासोको विषय बनेको बीबीसी हिन्दीले समाचार छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्