
तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर समस्या समाधान गर्न एउटा अनौठो जुक्ति निकालेको छ । नगर प्रमुख अर्जुन माबोहाङले आगामी जेठ १ र २ गते नगरपालिकाको सीमाबाट बाँदर लखेटी कटाउने अभियान घोषणा गरेका हुन्।
त्यसका लागि जेठ १ गते शुक्रबार नगरभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। बाँदर आतंकका कारण कृषि उपज सखाप हुने मात्र नभई बाली जोगाउनकै लागि बालबालिकाहरू विद्यालय जान नपाउने दुःखद अवस्था सिर्जना भएपछि नगरपालिकाले यस्तो अभियान शुरू गरेको हो।
नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटमा समेत बाँदरबाट हुने क्षति न्यूनीकरणका लागि बजेट विनियोजन गरेको छ। यसैअन्तर्गत वडा नं. ८ को मेघा पुच्छार, वडा नं. ६ र ८ को संगमस्थल नागेश्वरी र वडा नं. ५ को सिद्धथापा पुच्छारमा अस्थायी संरचनासहित बाँदर हेरालुहरू समेत खटाइएको छ।
जेठ १ र २ गते सञ्चालन हुने यस अभियानमा ठूलो संख्यामा जनपरिचालन आवश्यक पर्ने भएकाले नगरपालिकाले अत्यावश्यकबाहेक सबै सेवाहरू बन्द रहने गरी सार्वजनिक बिदा दिएको जानकारी गराएको छ।
नगर प्रमुख माबोहाङले एक सूचना जारी गर्दै अभियानमा कृषक, जनप्रतिनिधि, सबै तहका कर्मचारी र आम नागरिकहरूलाई सक्रिय रूपमा सहभागी हुन अनुरोध गरेका छन्। वडाले तोकेको स्थान र समयमा उपस्थित भई सामूहिक रूपमा बाँदरलाई लखेटेर नगरपालिकाको सिमाना कटाउने लक्ष्य राखेको उनले बताएका छन्।
स्थानीयस्तरमा बाँदर आतंकले राष्ट्रिय समस्याको रूप लिएपछि नगरपालिकाले जनपरिचालन गरेरै यसको समाधान खोज्ने प्रयास गरेको यो घटना अहिले निकै चर्चाको विषय बनेको छ। चालु आर्थिक वर्षका लागि नगरपालिकाले ३ लाख बजेट बाँदर आतंक नियन्त्रण गर्न विनियोजन गरेको थियो।
प्रमुख प्रशासकीय अधिकृत रविन कार्कीका अनुसार अहिलेसम्म उक्त बजेट भने खर्च भएको छैन। बाँदर धपाउन तीन जना हेरालु समेत राखिएको कार्कीले बताए। ‘धपाउने कार्यक्रममा हाम्रो बजेट खर्च हुँदैन,’ उनले भने, ‘हामीले केही ग्याटिसहरू मात्रै खरिद गरिदिन्छौं। दैनिक ज्यालादारीमा कर्मचारी राखिएको हो।’
हेरालुका लागि तीन स्थानमा अस्थायी टहरा समेत बनाइएको छ। हेरालुले काम गरे/नगरेको अनुगमन वडा कार्यालयले गर्ने नगरपालिकाको कार्यालयले जनाएको छ। हेरालु राखेपछि बाली जोगियो भनेर स्थानीयले भनेपछि वडाले त्यही अनुसारको सिफारिस गर्छ भन्दै प्रमुख प्रशासकीय अधिकृत कार्कीले थपे, ‘जोगियो भन्ने सिफारिस आयो भने हामी कर्मचारीलाई निरन्तरता दिन्छौं। यही महिनादेखि राखिएको हो।’
