०९ साउन २०८३, शनिबार
आईसीसी क्रिकेट विश्वकप लिग–२

कुशलको शतक र आसिफको अर्धशतकपछि नेपालसामू निरीह बन्यो अमेरिका

जेठ २, २०८३
काठमाडौं
कुशलको शतक र आसिफको अर्धशतकपछि नेपालसामू निरीह बन्यो अमेरिका

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा शनिबार नेपालले अमेरिकालाई नौ विकेटको फराकिलो अन्तरले हराएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको अमेरिकी टोलीले ४३.३ ओभरमै अलआउट हुनुअघि एक सय ९५ रन बनाएको थियो ।  

सामान्य विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ३६.४ ओभरमै केवल एक विकेट गुमाएर जित हासिल गर्‍यो ।

नेपालको जितमा ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट साझेदारी गरे । यी दुवै ओपनरले २६.३ ओभरसम्म टिकेर एक सय ४५ रनको साझेदारी गरे ।

कुशल भुर्तेलले उत्कृष्ट शतकीय पाली खेले । २९ वर्षीय कुशलले अविजित एक सय २० रन बनाए । यसक्रममा उनले एक सय १८ बलको सामना गरी चार छक्का र १३ चौका पनि हिर्काए ।

उनले शतक भने एक सय चार बलमा तीन छक्का र १२ चौकाको मद्दतले पूरा गरेका थिए । कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो शतक हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको उच्च स्कोर पनि हो । यसअघि शतकीय पाली खेल्दा उनले एक सय १५ रन बनाएका थिए ।

कुशलले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको रन संख्या पनि तीन हजार पाँच सय ८४ पुगेको छ । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६८ खेल खेल्दै एक हजार पाँच सय ९९ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले नौवटा अर्धशतक पनि बनाएका छन् ।

यसैगरी, उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ७६ खेल खेल्दै एक शतक र १४ अर्धशतकको मद्दतले कूल एक हजार नौ सय ८५ रन बनाएका छन् ।

आसिफ शेखले पनि उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ५८ रनको योगदान गरे । यसक्रममा उनले ७२ बलको सामना गरी आठ चौका पनि हिर्काए ।

२४ वर्षीय आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १५ औं अर्धशतक हो । यो ढाँचाको क्रिकेटमा उनले एउटा शतक पनि बनाएका छन् ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका इशान पाण्डेले पनि ३० बलको सामना गरी एक चौकाको मद्दतले टोलीको खातामा अविजित २० रन थपे ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाली टोली हालसम्म अमेरिकासँग पराजित भएको छैन ।

यो स्टेडियममा नेपाल र अमेरिका तेस्रोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भिडेका हुन् । यसअघि खेलिएको दुई खेलमा पनि नेपालले अमेरिकालाई हराएको थियो ।

नेपाली टोली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि लगातार चार खेलमा अमेरिकासँग पराजित भएको थियो ।

नेपाल यसअघि सन् २०२३ को जुन २० तारिखमा अमेरिकालाई हराएको थियो । जिम्वाब्बेको हरारेमा खेलिएको उक्त खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

त्यसअघि, अमेरिकी ब्याट्सम्यानलाई ठुलो योगफल तयार पार्नबाट रोक्ने क्रममा नेपाली टोलीका बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । उनले किफायती बलिङ गर्दै ७.३ ओभरमा केवल २४ रन खर्चिए । सोमपाल कामीले पनि दुई विकेट हात पारे ।

सन्दीप लामिछाने र गुलसन झाले पनि एक–एक विकेट लिए । नेपाली बलरले अतिरिक्त रूपमा पनि केवल ६ रन दिए ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । विकेटकिपर ब्याट्सम्यान पटेलले ८९ बलमा तीन छक्का र आठ चौकाको मद्दतले ८३ रन बनाए ।

३१ औं ओभरको पाँचौं बलमा सोमपाल कामीले पटेललाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएपछि अमेरिकाले लगातार विकेट गुमाउनेक्रम शुरू भएको थियो ।

अमेरिकाका लागि शेहान जहाँगिरले पनि अर्धशतक बनाए । उनले ५२ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ५२ रन बनाए ।

मिलिन्द कुमार ४१ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २८ रन बनाउँदै आउट भए । हरमित सिंहले १४ रन जोडे । अमेरिकाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यो सिजनको लिग–२ प्रतियोगितामा आठ टोली सहभागी छन् । यो जितसँगै नेपाली टोलीले थप दुई अंक पनि बटुलेको छ ।

लिग–२ प्रतियोगितामा ३० खेलबाट ३८ अंक जोडेको स्कटल्यान्ड पहिलो स्थानमा आसिन छ । २६ खेलबाट ३६ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

यसैगरी, २८ खेलबाट ३१ अंक हात पारेको ओमान तेस्रो, २४ खेलबाट २८ अंक बटुलेको नेदरल्यान्ड्स चौथो र २८ खेलबाट २२ अंक जोडेको नामिबिया पाँचौँ स्थानमा आसिन छन् ।

यसैगरी, २४ खेलबाट २१ अंक जोडेको क्यानडा छैटौँ, २६ खेलबाट २० अंक हात पारेको नेपाल सातौं र २४ खेलबाट १४ अंक बटुलेको यूएई आठौं स्थानमा छन् ।

लिग–२ प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा रहेको छ ।

लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।

लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ ।

यसका अतिरिक्त, आईसीसीबाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहन्छ ।

छनोट चरण पार गर्दै तेस्रोपटक टी–२० विश्वकप खेलेको नेपालले हालसम्म एकदिवसीय विश्वकप खेल्ने अवसर भने पाएको छैन । यो ऐतिहासिक उपलब्धि हासिल गर्न नेपाली टोलीसामू जारी लिग–२ प्रतियोगितामा अब्बल प्रदर्शन गर्नुको विकल्प छैन ।

salt training

कमेन्ट गर्नुहोस्