२४ जेठ २०८३, आइतबार

‘होल्डिङ सेन्टर’का १४ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था

जेठ २, २०८३
काठमाडौं
‘होल्डिङ सेन्टर’का १४ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था

काठमाडौं महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रम ‘होल्डिङ सेन्टर’मा रहेका १४ जना बालबालिकालाई आवासीय (होस्टेल) सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था गरेको छ ।

यसका लागि महानगरले यहाँका विभिन्न विद्यालय र अभिभावकबीच सम्झौता गरी बालबालिकालाई कक्षा १० सम्म निःशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको हो ।

विद्यार्थीहरूको निःशुल्क आवासीय अध्ययनका विषयमा विभिन्न चार प्रस्तावमा निर्णय गरिएको र विद्यार्थीहरू आइतबारदेखि नियमित विद्यालय जाने महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

उनले भनिन्, 'पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकार सुरक्षित गर्ने दायित्व हामी सबैको हो । त्यसका लागि अविचलित रूपमा काम गरिरहेका छौं । यो शैक्षिक क्रियाकलाप मात्र होइन, मानवीय सेवा पनि हो । यो सेवाप्रति हामी प्रतिबद्ध छौं ।'

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्यसमितिका अध्यक्ष गगनसिंह ऐरले बालबालिकाले देखेको सपना पूरा गर्न आफूहरूले सहयोग गरेको बताए ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) महानगर समितिका अध्यक्ष नवराज पाण्डेले महानगरको समन्वयमा बालबालिकालाई उच्चस्तरीय शैक्षिक कार्यक्रम उपलब्ध गराउने सहमति भएको जानकारी दिए ।

उक्त होल्डिङ सेन्टरमा ६१ जना बालबालिकाको नाम दर्ता भएको थियो । शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बालबालिका अभिभावकसँग भाडाको घरमा बस्न गएका छन् ।

हाल प्याब्सनअन्तर्गतका १० र एनप्याब्सनअन्तर्गतका तीन विद्यालयसँग सम्झौता गरिएको जनाइएको छ ।

प्याब्सनअन्तर्गतका एन्जल हर्ट स्कूल मनमैजु, गेटवे एकेडेमी पेप्सीकोला, भ्याली पब्लिक स्कूल कपन बूढानीलकण्ठ, नेक्सस इन्टरनेसनल स्कूल पेप्सीकोला, इनोभेटिभ स्कूल शङ्खमूल, हेम्स स्कूल कालोपुल, केएमसी शङ्खमूल, केभीसी नागार्जुन, भेनस पब्लिक स्कूल जोरपाटी र सुप्रिम इन्टरनेशनल स्कूल चावहिल रहेका छन् ।

एनप्याब्सनअन्तर्गतका प्रोग्रेसिभ सेकेन्डरी स्कूल चावहिल, नेरिक एकेडेमी, बानेश्वर बुद्धनगर र नेसनल आइडल बोर्डिङ स्कूल मन्डिकाटारसँग सम्झौता भएको हो ।

यसरी बालबालिकालाई निःशुल्क पढ्ने अवसर प्राप्त गरेकोमा अभिभावकहरूले खुसी व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्