
दोलखा खुला अन्तर्राष्ट्रिय चेस स्पर्धाको छैटौं संस्करणको उपाधि उच्च वरीयता रुसी खेलाडी किरियाकोभ पेटले जितेका छन् । उनले प्रतियोगितामा अपराजित रहँदै उपाधि आफ्नो नाममा पारेका हुन् ।
रुस, भारत र नेपालका तीन जना खेलाडीले समान ७.५ अंक जोडे पनि प्रोग्रेसिभ अंकका आधारमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीको टुंगो लगाइएको थियो ।
रुसका २४७३ रेटेड जीएम किरियाकोभले नौ चरणको क्लासिकल खेलमा ६ जीत र तीन बराबरीको खेल प्रदर्शन गर्दै ७.५ अंकका साथ उपाधि हात पारेका हुन् ।
रसियन ग्रायण्ड मास्टरले ६ दिनको नेपाल बसाइँ सुखद बनाउँदै प्रोग्रेसिभ ५४.५ प्वाइन्ट जोडेर एक लाख रुपैयाँ नगद पुरस्कारसँगै आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
चरिकोटको सिमपानी सभाहलमा सम्पन्न खेलमा दोस्रो वरीयताका २३२४ रेटेड भारतीय खेलाडी अर्पण दासले प्रोग्रेसिभ ५३.५ प्वाइन्ट जोडेर द्वितीय स्थान प्राप्त गरे । उनले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
नेपालका २०४० रेटेड खेलाडी रिसोन थापाले प्रोग्रेसिभ ५१.५ प्वाइन्ट जोडेर तृतीय स्थान सुरक्षित गरे । उनले ४० हजार रुपैयाँ नगद पुरस्कार जिते ।
यसैगरी, तीन जना खेलाडीले समान सात अंक जोडेर प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथोदेखि छैठौं स्थान प्राप्त गरे । नेपाली युवा सीएम पुरुषोत्तम सिलवालले ५१ प्रोग्रेसिभ प्वाइन्ट बनाउँदै चौथो स्थान हासिल गरे ।
यसैगरी, भारतका अंकित दासले ४९.५ प्रोग्रेसिभ प्वाइन्ट जोडेर पाँचौ स्थान हासिल गरे । नेपालका धिरेन राई छैठौँ भए ।
प्रतियोगितामा भारतका राहुल गुरुङ सातौँ , थेन्दुप तामाङ आठौँ, विनायकसिंह यादव नवौँ र प्रसान्त गुरुङ १०औँ भए ।
दोलखा चेस होम्सको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा सात राष्ट्रका एक सय ४० जना अन्तर्राष्ट्रिय खेलाडी सहभागी थिए ।
दोलखा चेस होमका अध्यक्ष गोविन्दमान श्रेष्ठको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण समारोहमा दोलखा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष आशिष घिसिङ, नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारलगायतले पुरस्कार वितरण गरे ।