
अमेरिकाको न्याय विभागले क्युबाका नेता राउल क्यास्ट्रो विरुद्ध तीन दशकअघि दुईवटा विमान खसालेको आरोपमा मुद्दा चलाउने तयारी गरिरहेको बीबीसीले समाचार छापेको छ ।
९४ वर्ष पुगिसकेका क्यास्ट्रोमाथि सन् १९९६ मा मानवीय सहायता समूह 'ब्रदर्स टु द रेस्क्यु' का दुई साना विमान खसालेको घटनामा संलग्न रहेको आरोप लगाइएको हो ।
उक्त घटनामा चार जनाको मृत्यु भएको थियो। यो सम्भावित अभियोगको खबर यस्तो समयमा आएको छ जब अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक जोन र्याटक्लिफ अधिकारीहरूसँग भेटघाट गर्न हवाना पुगेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामाथि तेल नाकाबन्दी लगाउँदै त्यहाँको कम्युनिष्ट शासन परिवर्तन गर्न चाहेको संकेत दिइसकेका छन् । हाल क्युबा गम्भीर इन्धन संकट र आर्थिक मन्दीबाट गुज्रिरहेको छ।
क्युबाली अधिकारीहरूले भने अमेरिकी नाकाबन्दी र धम्कीका बाबजुद आफ्नो सार्वभौमसत्ता र समाजवादी बाटो नछोड्ने अडान व्यक्त गरेका छन्।
भेनेजुएलाका नेता निकोलस मदुरोलाई सत्ताच्युत गरेपछि अमेरिकाले अहिले क्युबामाथि आफ्नो दबाब बढाएको देखिन्छ। विश्लेषकहरूका अनुसार क्यास्ट्रो विरुद्धको यो कदमले क्युबामा अस्थिरता पैदा भई अमेरिकाका लागि ठूलो आप्रवासन संकट निम्त्याउन सक्ने जोखिम पनि रहेको छ।