
उत्तरी इटालीको ऐतिहासिक सहर मोडेनामा एक व्यक्तिले पैदलयात्रीको भीडमा तीव्र गतिको कार गुडाउँदा आठ जना घाइते भएका छन्।
शनिबार दिउँसो भएको उक्त विष्मदकारी घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्।
प्रत्यक्षदर्शीका अनुसार स्थानीय समय अनुसार दिउँसो ४:३० बजेतिर एक कार करिब १०० किलोमिटर प्रतिघण्टाको गतिमा अचानक पैदलयात्री हिँड्ने पेटीमा प्रवेश गरेको थियो। कारले मानिसहरूलाई ठक्कर दिँदै एउटा पसलको झ्यालमा ठोक्किएर रोकिएको थियो। कार रोकिएलगत्तै चालकले हातमा चक्कु लिएर बाहिर निस्किएका थिए। उनलाई नियन्त्रणमा लिन खोज्ने लुका सिग्नारेली नामक व्यक्तिलाई समेत उनले चक्कु प्रहार गरी घाइते बनाएका थिए। पछि सर्वसाधारणको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको थियो।
प्रहरीले अभियुक्तको पहिचान ३१ वर्षीय सलिम एल कौद्रीको रूपमा गरेको छ, जो मोरक्कन मूलका इटालियन नागरिक हुन्। मोडेनाका प्रिफेक्ट फाब्रिजिया ट्रियोलोका अनुसार कौद्री सन् २०२२ देखि मानसिक स्वास्थ्य समस्याबाट पीडित थिए र उपचार केन्द्रबाट सम्पर्कविहीन भएका थिए। उनी अर्थशास्त्रमा स्नातक भए तापनि हाल बेरोजगार थिए र उनको कुनै आपराधिक रेकर्ड भने देखिएको छैन।
घटनामा पाँच महिला र तीन पुरुष घाइते भएका छन्। गम्भीर घाइतेमध्ये एक महिलाले आफ्ना दुवै खुट्टा गुमाउनु परेको खबर छ।
इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले यस घटनालाई अत्यन्तै गम्भीर भन्दै भर्त्सना गरेकी छन्।