
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा रहेकाले उद्योगी-व्यवसायीलाई प्रोत्साहन गर्ने किसिमले नीति बनाइने प्रतिबद्धता जनाएका छन् ।
भैरहवामा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहमा मुख्यमन्त्री आचार्यले नव-निर्वाचित पदाधिकारीलाई उद्योगी-व्यवसायीको अभिभावकको भूमिकामा रहेर काम गर्न आग्रह गरे । उनले निजी क्षेत्र प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै उद्योगी-व्यवसायीको मनोबल उच्च बनाउन प्रदेश सरकार सधैं प्रतिबद्ध रहेको बताए ।
नयाँ कार्यकारिणी समितिका पदाधिकारीलाई व्यवसायीले आशा र भरोसाका साथ जिम्मेवारी दिएका उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सङ्घलाई उद्योग क्षेत्रको भरोसाको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
प्रदेश सरकार उद्योगी तथा व्यवसायीका पक्षमा दृढतापूर्वक उभिदै व्यवसायीले भोगिरहेका समस्या समाधानका लागि सकारात्मक रहेको बताए । 'व्यवसायीको मनोबल उच्च बनाउन प्रदेश सरकार जिम्मेवारी बोधका साथ अगाडि बढिरहेको छ,' मुख्यमन्त्री आचार्यले भने ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेका उद्योग, सरकारी कार्यालय तथा निजी घरप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले प्रदेशभर ३९७ वटा संरचना जलेका जानकारी दिए ।
मुख्यमन्त्री आचार्यले देशभर विद्युत् लाइन काटिएका उद्योगमध्ये १३ वटा लुम्बिनी प्रदेशमा परेका उल्लेख गर्दै प्रदेश सरकारले सङ्घीय सरकारको ध्यानाकर्षण गराएर उद्योग सञ्चालन सहज बनाउन पहल गरिरहेको बताए ।