
सप्तरीको छिन्नमस्ता गाउँपालिका मा २९ वर्षीय विद्यानन्द चौधरी युवा नेतृत्वको उदाहरण बनेका छन्।
२५ वर्षको उमेरमै गाउँपालिका अध्यक्षमा निर्वाचित बनेका उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र महिला सशक्तीकरणलाई केन्द्रमा राखेर विकास अभियान अघि बढाइरहेका छन्।
उनकै नेतृत्वमा वर्षौंदेखि हिलाम्मे सडकहरू ढलान र कालोपत्रे भएका छन् भने सातै वडामा स्वास्थ्य केन्द्र विस्तार गरिएको छ।
सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइ, निःशुल्क प्राविधिक शिक्षा, लोकसेवा तयारी कक्षा र डिजिटल शिक्षाको शुरूआतले शिक्षा क्षेत्रमा सुधार देखिएको छ। स्वास्थ्यतर्फ पालिकास्तरमै प्रयोगशाला, निःशुल्क एम्बुलेन्स सेवा र बर्थिङ सेन्टर सञ्चालनमा आएका छन्।

कृषि विद्युतीकरण अभियानअन्तर्गत अधिकांश खेतमा विद्युत् सिँचाइ पुगेको छ भने किसानको कृषि मिटरको महसुल पालिकाले तिर्ने व्यवस्था गरिएको छ। महिला सशक्तीकरणका लागि ५६ महिला समूह गठन, निःशुल्क प्याड वितरण र स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको छ।
सीमित बजेट र राजनीतिक चुनौतीबीच पनि चौधरीले सुशासन, विकास र जनउत्तरदायी नेतृत्वमार्फत् छिन्नमस्तालाई नमूना पालिकाका रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन् । हालै उनले कोलम्बोमा ‘वेस्ट मेयर अवार्ड’ समेत प्राप्त गरेका छन् ।
विद्यार्थी राजनीतिबाट उदाएका चौधरी २०७२ को मधेश आन्दोलनका घाइतेसमेत हुन् ।
सीमित स्रोत र ३८ सदस्यीय कार्यपालिकामा आफ्नै दलबाट एक्ला प्रतिनिधि हुँदाहुँदै पनि उनले समन्वयकारी शैलीमा काम गर्दै छिन्नमस्तामा विकासको नयाँ अभ्यास थालेका छन् ।
