
अमेरिका र इरानबीच जारी तनावका बीच वासिङ्टनले शान्ति प्रक्रिया अघि बढाउन इरानसामु पाँचवटा कडा सर्तहरू राखेको छ।
इरानी सञ्चारमाध्यम 'फर्स न्युज एजेन्सी' ले दाबी गरेअनुसार अमेरिकाले इरानको आणविक कार्यक्रम र जफत गरिएको सम्पत्तिका विषयमा सर्तहरू अघि सारेको हो।
अमेरिकी सर्तअनुसार इरानमाथि भएको बमबारीबाट भएको क्षतिबापत अमेरिकाले कुनै पनि क्षतिपूर्ति दिने छैन। साथै, इरानले आफूसँग रहेको ४०० किलोग्राम संवर्धित युरेनियम अमेरिकालाई सुम्पिनुपर्ने माग राखिएको छ। अमेरिकाले इरानमा केवल एउटा मात्र आणविक केन्द्र सञ्चालन गर्न अनुमति दिने र विदेशमा रोक्का गरिएको इरानी सम्पत्तिमध्ये केवल २५ प्रतिशत मात्र फिर्ता गर्ने अडान लिएको छ।
लेबनानसहितका सबै मोर्चामा जारी युद्धलाई वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने अमेरिकाको सर्त छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै समय छिटो घर्किँदै गएको बताएका छन्। उनले इरानको आणविक कार्यक्रममा स्थायी प्रतिबन्धको सट्टा २० वर्षका लागि निलम्बन गर्ने नयाँ प्रस्ताव समेत अघि सारेका छन्।
इरानले भने ट्रम्पको कडा शैली र सर्तहरूलाई लिएर व्यङ्ग्य गरेको छ। इरानी विदेश मन्त्रालयले ट्रम्पको करियरमा आधारित फिल्म 'द अप्रेन्टिस' को भिडियो शेयर गर्दै 'कहिल्यै हार स्वीकार नगर्ने' ट्रम्पको स्वभावमाथि कटाक्ष गरेको छ।