
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, भैरहवा रूपन्देहीमा कार्यरत नायब सुब्बा (नासु) ओमबहादुर खाम्चाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
२ लाख रुपैयाँ घुससहित पक्राउ परेका खाम्चाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
प्रवक्ता न्यौपानेका अनुसार खाम्चाले जग्गाको नयाँ श्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्दै आयोगमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले खाम्चालाई सेवाग्राहीबाट लिएको २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
थप अनुसन्धानका क्रममा खाम्चाले जीर्ण श्रेस्ता कायम गरी अपुताली जग्गा नामसारी दाखा समेतका काम गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको प्रवक्ता न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगले उनीविरुद्ध कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ।