
दैनिकजसो सडक दुर्घटना भएर जनधनको क्षति भएका खबर दैनिक आउने गरेका छन् । यो क्रम केही वर्षयता झन् बढेको देखिन्छ । ट्राफिक प्रहरीको तथ्यांकअनुसार कूलदुर्घटनामध्ये आधा बढी दुई पाङ्ग्रे सवारी देखिन्छन् ।
लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म सडक दुर्घटनामा परी ४९३ जनाको मृत्यु भएको छ । यस अवधिमा भएका कुल ४ हजार ४४८ वटा दुर्घटनामध्ये ६४ प्रतिशत दुईपाङ्ग्रे सवारीसाधन नै दुर्घटनामा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, लुम्बिनीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माका अनुसार सडक दुर्घटनामा ज्यान गुमाउनेहरूमा युवा धेरै छन् ।
‘मृत्यु भएकाहरूमध्ये आधाभन्दा बढी युवा देखिन्छन्,’ उनले भने, ‘दुर्घटना भएका सवारीसाधनमध्ये ३ हजार ९३३ वटा मोटरसाइकल र स्कुटर रहेका छन्, जसमा धेरैजसो युवाले ज्यान गुमाएका छन् । चालकको लापरवाही, सडक शिक्षाको कमी, कमजोर सडक संरचना र पैदल यात्रुमा जनचेतनाको अभावका कारण लुम्बिनीमा दुईपाङ्ग्रे सवारीसाधनको दुर्घटना धेरै हुने गरेको छ ।’ यो दश महिनाको अवधिमा भएका दुर्घटनामा परी ७ हजार ५०८ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशमा गत आर्थिक वर्ष २०८१/०८२ को एक वर्षको अवधिमा २ हजार ५२९ सवारी दुर्घटना हुँदा ४२४ जना नागरिकले ज्यान गुमाएका थिए भने ४ हजार १५४ जना घाइते भएका थिए । यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा १ हजार १२० वटा सवारी दुर्घटना हुँदा ४९६ जना नागरिकले ज्यान गुमाएका थिए भने १ हजार ६९३ जना घाइते भएका थिए ।
त्यसैगरी, आर्थिक वर्ष २०७९/०८० मा ८९२ वटा सवारी दुर्घटना हुँदा ४६२ जनाको मृत्यु भएको थियो । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएका छन् भने सबैभन्दा कम रुकुम पूर्वमा भएका छन् ।
रुपन्देहीमा चालू आर्थिक वर्षको १० महिनाको अवधिमा १ हजार ३६५ वटा सवारी दुर्घटना हुँदा १२३ जनाको मृत्यु भएको छ भने २ हजार १३५ जना घाइते भएका छन् ।
यसै अवधिमा नवलपरासीमा ३४, कपिलवस्तुमा ६६, पाल्पामा २९ र गुल्मीमा १६ जनाको मृत्यु भएको छ । यसैगरी, अर्घाखाँचीमा १२, दाङमा ६३, बाँकेमा ४९, बर्दियामा ४१, प्युठानमा २२, रोल्पामा ३४ र रुकुम पूर्वमा ४ जनाको मृत्यु भएको छ ।
वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) ज्ञानु पाण्डेका अनुसार युवा पुस्तामा मोटरसाइकलको बढ्दो प्रयोगले दुर्घटना पनि उति नै बढाएको छ । ‘लुम्बिनी प्रदेशमा दुईपाङ्ग्रे सवारीको प्रयोग र दुर्घटना दुवै बढिरहेको छ । यसैलाई लक्षित गरेर दुर्घटना न्यूनीकरणका लागि विशेष सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्,’ उनले भने ।
सार्वजनिक यातायातलाई प्रभावकारी, सुरक्षित र भरपर्दो बनाउन सकेमा मोटरसाइकलको अत्यधिक प्रयोग कम गर्न सकिन्छ, जसले दुर्घटना न्यूनीकरणमा मद्दत पुर्याउँछ । ठूला र फराकिला सडक बने पनि दुर्घटनामा कमी आउन नसकेको पाण्डेको भनाइ छ ।
ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको १० महिनामा ९४ हजार ८४१ वटा सवारीसाधनलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट १० करोड ४७ लाख ९५ हजार ५०३ रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसैगरी, ट्राफिक प्रहरीले स्वरूप परिवर्तन (मोडिफाइड) गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणलाई पनि तीव्रता दिएको छ ।
चालू आर्थिक वर्षको १० महिनामा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकालेर गुडेका ५७२ वटा मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ । उक्त कारबाहीबाट ४७ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा स्वरूप परिवर्तन गरेका २१९ वटा मोटरसाइकल चालकलाई प्रहरीले कारबाही गरेको थियो ।
यस्तै, सवारीसाधनको क्षमताभन्दा बढी (ओभरलोड) सामान बोक्ने २४ हजार २६६ वटा सवारीसाधन कारबाहीमा परेका छन् । जसबाट ४ करोड १८ लाख २६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसैगरी, ओभरलोड बोकेका अन्य १ हजार ४४९ वटा सवारीसाधनलाई कारबाहीका लागि यातायात कार्यालयमा पठाइएको छ र जसबाट १ करोड ४३ लाख ७० हजार ८०० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यस्तैगरी, मादक पदार्थ सेवन गरी सवारी चलाउने ४ हजार ७७५ जना चालक कारबाहीमा परेका छन्, जसबाट २४ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । लागुपदार्थ सेवन गरेर सवारी चलाउने ३९ जना चालकमाथि भने मुद्दा चलाइएको छ । यस्तै, तीव्र गतिमा सवारी चलाउने १ हजार ८९९ जना चालक कारबाहीमा परेका छन्, जसबाट १० लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
गलत स्थानमा पार्किङ गरेका ३ हजार ७२३ वटा सवारीसाधन कारबाहीमा परेका छन्, जसबाट २६ लाख ५२ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ । लेन अनुशासन उल्लङ्घन गर्ने १ हजार २६१ वटा सवारीसाधन कारबाहीमा परेका छन् भने ६ लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै, रातो बत्ती र इसारा उल्लङ्घन गर्ने ४ हजार २६२ वटा सवारीसाधन कारबाहीमा परेका छन्, जसबाट २२ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । ‘हामीले राजस्व सङ्कलन गर्नेभन्दा पनि नियम पालना गराउने र दुर्घटना न्यूनीकरण गर्ने कार्यमा विशेष ध्यान दिएका छौँ,’ प्रहरी उपरीक्षक शर्माले भने, ‘तर, नियम नमान्ने र उल्लङ्घन गर्नेहरूलाई भने कानुनी दायरामा ल्याएर जरिवाना पनि गरेका छौँ ।’
ट्राफिक प्रहरीले दैनिकजसो लापरबाही गरी सवारी चलाउने चालकहरूलाई कारबाही गरे पनि सवारीसाधनहरूको संख्या थपिँदै जाँदा दुर्घटनाको संख्या पनि बढ्दै गएको छ । साँघुरो सडक, घुम्ती र जङ्गल क्षेत्रमा गरिने ट्राफिक चेकिङलाई अहिले पूर्ण रूपमा हटाइएको छ । भारतीय गाडीहरूले भन्सारमा सबै प्रक्रिया पूरा गरी नेपाल प्रवेश गरेको अवस्थामा, ट्राफिक नियम उल्लङ्घन गरेको अवस्थाबाहेक अन्य स्थानमा चेकजाँच गर्न छोडिएको छ ।