
पाल्पालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार एक कार्यक्रमका बीच पाल्पालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धिलाई दिगो बनाउन साझा प्रयत्न आवश्यक रहेको बताए ।
उनले पाल्पा स्वास्थ्य सेवाको दृष्टिले महत्त्वपूर्ण जिल्ला रहेको उल्लेख गर्दै यहाँ मिसन अस्पताल, मेडिकल कलेज र जिल्ला अस्पतालमार्फत् सरकारी तथा निजी क्षेत्रबाट उल्लेखनीय लगानी भएको बताए ।
पूर्णखोप तथा संस्थागत प्रसूति सेवाको उपलब्धिलाई दिगो बनाउन राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाको महत्त्वपूर्ण भूमिका रहने मुख्यमन्त्री आचार्यको भनाइ थियो ।
उनले गुणस्तरीय सेवा प्रवाहलाई प्रभावकारी बनाउन बर्थिङ सेन्टरलाई व्यवस्थित र आवश्यकताअनुसार मर्ज गर्दै सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै उनले सेवा अवधिपछि बिदाइ हुँदा सम्मानस्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए ।