२३ जेठ २०८३, शनिबार

स्मार्ट चश्मा ल्याउँदै गूगल, के छन् विशेषताहरू ?

जेठ ६, २०८३
काठमाडौं
स्मार्ट चश्मा ल्याउँदै गूगल, के छन् विशेषताहरू ?

प्रविधि क्षेत्रको दिग्गज कम्पनी गूगलले १० वर्षअघिको ‘गूगल ग्लास’ को असफलतालाई बिर्साउने गरी नयाँ स्मार्ट चश्मा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो वार्षिक विकासकर्ता सम्मेलनमा नयाँ पुस्ताको स्मार्ट चश्माको झलक प्रस्तुत गरेको हो।

आगामी शरद ऋतुबाट बिक्री सुरु हुने यो चश्मामा गूगलको अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली ‘जेमिनी’ जडान गरिएको छ।

गूगलका कार्यकारी शाहराम इजादीका अनुसार यो चश्माको फ्रेममा सानो क्यामेरा र डन्डीमा साना स्पिकरहरू राखिएका छन्। यसको मुख्य उद्देश्य प्रयोगकर्तालाई फोन ननिकालिकन ‘ह्यान्ड्स-फ्री’ रूपमा जेमिनी एआईसँग कुराकानी गर्न र जानकारी लिन सघाउनु हो।

यो चश्माले एन्ड्रोइड र एप्पलको आईओएस दुवै उपकरणहरूमा काम गर्नेछ। सुरुवाती चरणमा यो चश्मा अडियोमा आधारित हुनेछ, जसमा प्रयोगकर्ताले कानमा जानकारी सुन्न सक्नेछन्। यद्यपि, गूगलले भविष्यमा चश्माकै लेन्समा अक्षर र जानकारी देखिने संस्करण पनि ल्याउने तयारी गरिरहेको जनाएको छ ।


गूगलले यो चश्मालाई स्टाइलिस बनाउन चश्मा उत्पादक कम्पनी ‘वारबी पार्कर’  र ‘जेन्टल मन्स्टर’ सँग सहकार्य गरेको छ। यसअघिको गूगल ग्लास यसको अनौठो डिजाइन र महँगो मूल्यका कारण लोकप्रिय हुन सकेको थिएन।

सन् २०१३ मा सार्वजनिक भएको गूगल ग्लास गोपनीयता र मूल्यका कारण सन् २०१५ मा बजारबाट हटाइएको थियो। अहिले मेटाको स्मार्ट चश्माले बजारमा राम्रो उपस्थिति जनाए पनि, अरूलाई थाहै नदिई भिडियो खिचिने भन्दै पुनः गोपनीयताको बहस सुरु भएको छ। गूगलको नयाँ चश्मामा पनि यस्तै खालका चुनौतीहरू आउन सक्ने विज्ञहरू बताउँछन्।

salt training

कमेन्ट गर्नुहोस्