
पाकिस्तानको एक अदालतले १७ वर्षीया प्रसिद्ध टिकटक स्टार साना युसुफको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ।
इस्लामावादको अदालतले २३ वर्षीय उमर हयातलाई सानाको हत्यामा दोषी ठहर गर्दै फाँसीको सजाय सुनाएको हो। साथै, अदालतले हयातलाई पीडित परिवारका लागि २५ लाख पाकिस्तानी रुपैयाँ क्षतिपूर्ति तिर्न समेत आदेश दिएको छ।
हयातले गत वर्षको जुन महिनामा सानाको घरमा जबर्जस्ती प्रवेश गरी उनलाई गोली हानी हत्या गरेका थिए।
अनुसन्धानका क्रममा हयातले सानाप्रति आफ्नो एकतर्फी सनक रहेको र उनले आफ्नो प्रेम प्रस्ताव बारम्बार अस्वीकार गरेपछि हत्या गरेको स्वीकार गरेका छन्। सानाको जन्मदिनको अवसरमा उनलाई भेट्न हयात इस्लामावाद पुगेका थिए। तर सानाले भेट्न नचाहेपछि उनीहरूबीच विवाद भएको र सोही क्रममा हयातले गोली चलाएको प्रहरीले जनाएको छ।
साना युसुफ टिकटकमा निकै लोकप्रिय थिइन् । उनका १० लाखभन्दा बढी फलोअर्स थिए। उनको हत्यापछि सामाजिक सञ्जालमा महिलामाथि हुने हिंसाको प्रवृत्तिलाई लिएर अधिकारकर्मीहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।
फैसलापछि सानाका बुबा सैयद युसुफ हसनले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै यो फैसला समाजका अन्य अपराधीहरूका लागि एउटा कडा पाठ हुने बताएका छन्।