
पोर्चुगलको भिस्ता ग्रीन पार्कमा नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली पर्व मनाइएको छ ।
किराँत राई सोसाइटी पोर्चुगलद्वारा आयोजित विशेष सांस्कृतिक कार्यक्रम हालै भव्य रूपमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास, लिस्बनका प्रथम सचिव रामबाबु नेपालको उपस्थिति रहेको थियो ।
त्यसैगरी, विशेष अतिथिहरूमा गैरआवासीय नेपाली संघ, पोर्चुगल (एनआरएनए पोर्चुगल)का अध्यक्ष सुजन लामा मोक्तान, गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बु, एफआईबीआईकी अध्यक्ष मुना राई, जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप मगर, किराँत राई सोसाइटी स्पेनका अध्यक्ष युवराज राई लगायतको सहभागिता रहेको थियो।
त्यसैगरी, प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष दीपक खत्री,नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष भीम लामा, शेर्पा क्यिदुग पोर्चुगलका अध्यक्ष राजेन्द्र शेर्पा लगायत विभिन्न जातीय तथा सामुदायिक संस्थाका अध्यक्ष एवं प्रतिनिधिको पनि कार्यक्रममा सहभागिता थियो ।
एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले नेपाल बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक देश भएको उल्लेख गर्दै नेपाली संस्कृति नै हाम्रो पहिचान र गौरव भएको बताए ।
उनले आवश्यकता अनुसार विभिन्न संस्थाबीच सहकार्य गर्दै आगामी दिनमा पनि यस्ता सांस्कृतिक तथा प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । साथै, साकेला उभौली पर्वले नेपाली समुदायबीच आपसी एकता, सद्भाव, भाइचारा तथा सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने उनले विश्वास व्यक्त गरे ।
नेपाली राजदूतावास, लिस्बनका प्रथम सचिव रामबाबु नेपालले विदेशमा रहेर पनि नेपाली कला, संस्कृति तथा मौलिक परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु अत्यन्त महत्त्वपूर्ण कार्य भएको बताउँदै आयोजक संस्थाको प्रशंसा गरे । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।