
मध्यपूर्वी कच्चा तेल बोकेर दुई महिनाभन्दा बढी समयदेखि खाडी क्षेत्रमा रोकिएका तीन सुपरट्यांकरमध्ये दुई वटा बुधबार होर्मुज जलडमरू पार गर्दै बाहिरिएका छन् भने अर्को एउटा ट्यांकर पनि बाहिरिने क्रममा रहेको छ ।
जहाज ट्र्याकिङ प्लेटफर्म एलएसईजी र क्लेप्लरको तथ्यांकअनुसार ती जहाजमा करिब ६० लाख ब्यारेल मध्यपूर्वी कच्चा तेल रहेको छ ।
यी जहाजहरू इरानले तोकेको विशेष ट्रान्जिट मार्ग प्रयोग गर्दै यो महिना खाडी क्षेत्रबाट बाहिरिने सीमित संख्याका सुपरट्यांकरमध्येका हुन् ।
फेब्रुअरी २८ देखि शुरू भएको अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्वको करिब पाँचौं हिस्सा तेल तथा ऊर्जा आपूर्ति हुने होर्मुज जलडमरूमार्फत हुने ढुवानी गम्भीर रूपमा प्रभावित भएको छ ।
दक्षिण कोरियाली झण्डावाहक ‘भेरी लार्ज क्रुड क्यारियर’ युनिभर्सल विनरले मार्च ४ मा लोड गरिएको २० लाख ब्यारेल कुवेती कच्चा तेल बोकेको छ । दुई चिनियाँ ट्यांकर बाहिरिएपछि उक्त जहाज पनि जलडमरू पार गर्दै बाहिरिएको तथ्यांकले देखाएको छ ।
क्लेप्लरका अनुसार उक्त ट्यांकर दक्षिण कोरियाको उल्सानतर्फ गइरहेको छ, जहाँ देशको सबैभन्दा ठूलो तेल प्रशोधन कम्पनी एसके इनर्जी अवस्थित छ । जहाजले जुन ९ मा आफ्नो कार्गो खाली गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच, चिनियाँ झण्डावाहक युआन गुई याङले फेब्रुअरी २७ मा इराकको बसरा क्षेत्रबाट २० लाख ब्यारेल कच्चा तेल लोड गरेको थियो । अमेरिका–इजरायल र इरानबीच युद्ध शुरू हुनुभन्दा एक दिनअघि जहाजले तेल भरेको तथ्यांकमा उल्लेख छ ।
एसियाकै ठूलो रिफाइनरी कम्पनी साइनोपेकको व्यापारिक इकाई युनिपेकले चार्टर गरेको उक्त जहाज बुधबार जलडमरू पार गर्दै बाहिरिएको हो । जहाज जुन ४ मा चीनको ग्वाङडोङ प्रान्तस्थित माओमिङ नजिकको शुइदोङ बन्दरगाह पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, हङकङ झण्डावाहक भीएलसीसी ओसन लिलीले कतारको अल–शाहीन र इराकको बसरा क्षेत्रबाट १०/१० लाख ब्यारेल तेल लोड गरेको थियो । चिनियाँ कम्पनी सिनोकेम स्वामित्वको उक्त जहाज जुन ५ मा चीनको फुजियान प्रान्तस्थित क्वान्झाउ बन्दरगाह पुग्ने अनुमान गरिएको छ ।
गत साता पनि युआन हुआ हु नामक अर्को जहाज २० लाख ब्यारेल इराकी तेल बोकेर जलडमरू पार गर्दै चीनको झोउसान बन्दरगाहतर्फ गएको थियो ।
यसैबीच, साइप्रस झण्डावाहक ग्रान्ड लेडी भने आफ्नो ट्रान्सपोंडर बन्द अवस्थामा होर्मुज जलडमरू प्रवेश गरेको एलएसईजीको तथ्यांकले देखाएको छ । हाल उक्त खाली ट्यांकर दुबई नजिकै एंकर गरेर राखिएको जनाइएको छ ।