२४ जेठ २०८३, आइतबार

फिफा विश्वकप विजेताले नगद पुरस्कार कति पाउँछ ?

जेठ ६, २०८३
काठमाडौं
फिफा विश्वकप विजेताले नगद पुरस्कार कति पाउँछ ?

फिफा पुरुष विश्वकप फुटबलको २३ औं संस्करण आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

विश्वकप शुरू हुन करिब तीन साता समय बाँकी रहँदा सहभागी टोली अन्तिम तयारीमा व्यस्त छन् । सहभागी राष्ट्रहरूले धमाधम आफ्नो टोलीको घोषणा पनि गरिरहेका छन् ।

विश्वभरका करोडौं खेलप्रेमी पनि फुटबल महाकुम्भको व्यग्र प्रतीक्षामा छन् । विश्वकपमा सहभागी हरेक टोलीको सपना ट्रफी उचाल्नु र देशको नाम इतिहासमा लेखाउनु नै हो ।

तर, यसपटक विश्वकपको उपाधि जित्ने टोलीका लागि पुरस्कार राशी पनि उत्तिकै ऐतिहासिक छ । आगामी जुलाई १९ तारिखमा न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा जसले सुनौलो ट्रफी चुम्नेछ, उसले इतिहासकै सर्वाधिक ठूलो पुरस्कार राशी पनि हात पार्नेछ ।

आखिर विश्वकप विजेता टोलीले कति पाउँछ त नगद पुरस्कार ? धेरै खेलप्रेमीको मनमा यो प्रश्नले घर बनाएको हुनसक्छ ।

खासमा, फिफा विश्वकपको २३ औं संस्करणको उपाधि जित्ने टोलीले ५० मिलियन अर्थात् पाँच करोड अमेरिकी डलर नगद पुरस्कार पाउँछ । यो रकम हालको विनिमय दर अनुसार नेपाली रूपैयाँमा सात अर्ब भन्दा बढी हुन आउँछ ।

आगामी विश्वकपका लागि फिफाले कूल ७२७ मिलियन अमेरिकी डलरको पुरस्कार राशी छुट्याएको छ । त्यसमध्ये ६५५ मिलियन डलर प्रतियोगितामा छनोट भएका ४८ राष्ट्रबीच वितरण गरिनेछ ।

विश्वकपको उप–विजेता बन्ने टोलीले ३३ मिलियन अर्थात् तीन करोड ३० लाख अमेरिकी डलर नगद पुरस्कार हात पार्नेछ । यो रकम नेपाली रूपैयाँमा पाँच अर्बभन्दा बढी हुन आउँछ ।

यसैगरी, तेस्रो स्थान हासिल गर्ने टोलीले २९ मिलियन अर्थात् दुई करोड ९० लाख अमेरिकी डलर र चौथो स्थान हासिल गर्ने टोलीले दुई करोड ७० लाख डलर नगद पुरस्कार पाउने छन् ।

यसैगरी, पाँचौंदेखि आठौं स्थानसम्म आउने टोलीले एक करोड ९० लाख तथा नवौंदेखि १६औं स्थानमा आउने टोलीले एक करोड ५० लाख डलर पाउने छन् ।

यसैगरी, १७ औंदेखि ३२ औं स्थानमा आउने टोली एक करोड १० लाख र ३३ औंदेखि ४८ औं स्थानसम्म आउने टोलीले ९० लाख अमेरिकी डलर नगद पुरस्कार हात पार्नेछन् ।

फिफाले विश्वकपमा नगद पुरस्कार राशी सार्वजनिक गर्न थालेयता यसमा भएको वृद्धि लोभलाग्दो छ । सन् १९८२ मा इटालीले विश्वकप जित्दा केवल २२ लाख डलर पुरस्कार पाएको थियो ।

चार वर्षअघि सन् २०२२ मा अर्जेन्टिनाले उपाधि उचाल्दा चार करोड २० लाख अमेरिकी डलर नगद पुरस्कार हात पारेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्