२४ जेठ २०८३, आइतबार
विश्वकप फूटबल शृंखला- ८

कुराकाओको ऐतिहासिक विश्वकप यात्रा : डच प्रभाव, औपनिवेशिक विरासत र एउटा सानो टापुको ‘ब्लू वेभ’ क्रान्ति

जेठ ७, २०८३
काठमाडौं
कुराकाओको ऐतिहासिक विश्वकप यात्रा : डच प्रभाव, औपनिवेशिक विरासत र एउटा सानो टापुको ‘ब्लू वेभ’ क्रान्ति

क्यारिबियन समुद्रको काखमा अवस्थित, करिब एक लाख ५८ हजार जनसंख्या भएको एउटा सानो टापु राष्ट्र हो, ‘कुराकाओ’ । केही वर्षअघिसम्म विश्व फुटबलको इतिहासमा यो नाम सायदै कसैले सुनेको थियो ।

तर, आज यो राष्ट्रले ‘फिफा विश्वकप–२०२६’मा छनोट भएर विश्वकै सबैभन्दा सानो राष्ट्रको रूपमा इतिहास रचेको छ । यो केवल एक छनोटको कथा होइन; यो त संघर्ष, पहिचान र फुटबलप्रतिको अदम्य सहासको महागाथा हो ।

शुरूआत : जब एक ‘लिजेन्ड’ले सपना देखाइदिए

कुराकाओको फुटबल कायापलटको कथा सन् २०१५ बाट शुरू हुन्छ । नेदरल्यान्ड्सका महान फुटबलर प्याट्रिक क्लुइभर्ट जब टोलीको मुख्य प्रशिक्षक बने, धेरैले यसलाई एउटा सामान्य नियुक्तिको रूपमा लिएका थिए ।

तर, क्लुइभर्टले एउटा यस्तो आधारशिला खडा गरे, जसले दशकौँसम्मको निराशालाई चिर्न सक्थ्यो । उनले दोहोरो नागरिकता भएका खेलाडीहरूलाई कुराकाओबाट खेल्न अभिप्रेरित गरे ।

त्यसबेला यो सानो टापुमा एउटा ठूलो बहसको विषय बन्यो । धेरैले प्रश्न उठाए, ‘के बाहिरका खेलाडीलाई पैसा खन्याएर ल्याउनु सही हो ?’

क्लुइभर्टले यसको जवाफ मैदानबाट दिए । सन् २०१६ मा स्थानीय खेलाडी र बाहिरबाट ल्याइएका खेलाडीबीच एउटा मैत्रीपूर्ण खेल आयोजना गरियो ।

त्यो मैत्रीपूर्ण खेलमा स्थानीय टोली १–७ गोलले पराजित भयो । त्यस दिनदेखि प्रश्न गर्ने मुखहरू बन्द भए र ‘ब्लू वेभ’को औपचारिक उदय भयो ।

null

औपनिवेशिक छायाँ र फुटबलको राजनीति

कुराकाओको फुटबल यात्रा त्यति सहज थिएन, जति देखिन्छ । नेदरल्यान्ड्ससँगको यसको औपनिवेशिक इतिहास निकै पेचिलो छ ।

१७औँ शताब्दीदेखि दास व्यापारको केन्द्र रहेको यो टापुले सन् २०१० मा नेदरल्यान्ड्सको राज्यभित्रै एक स्वतन्त्र राष्ट्रको दर्जा पाएको थियो । तर, अझै पनि सुरक्षा र परराष्ट्र नीतिका लागि भने नेदरल्यान्ड्समाथि नै निर्भर छ । 

कुराकाओका नागरिकमा एक प्रकारको संशय थियो, के डच मूलका खेलाडीहरूले हाम्रो टापुको गौरव बुझ्लान् ? तर, समयसँगै यो संशय गौरवमा बदलियो ।

बाहिरबाट आएका खेलाडीहरूले मैदानमा केवल फुटबल खेलेनन्, सँगसँगै उनीहरूले स्थानीय समुदायसँग भावनात्मक सम्बन्ध पनि गाँसे ।

null

आज, विलेमस्टेडका गल्लीहरूमा तपाई कसैलाई सोध्नुहोस्, उनीहरूले तपाईंलाई खेलाडीहरूको खेलको कथाभन्दा पनि खेल मैदान बाहिर उनीहरूले जनतासँग गरेको भावनात्मक ब्यवहारको कथा सुनाउनेछन् ।

७८ वर्षीय ‘रणनीतिकार’ र उतार–चढाव

विश्वकपको २३औँ संस्करण नजिकिँदै गर्दा कुराकाओको डगआउटमा निकै ठूलो हलचल मच्चियो । प्रशिक्षक फ्रेड रुटेनले अप्रत्यासित रुपमा पद त्यग गरे ।

त्यसपछि, कुराकाओले पुन: आफ्नो पुराना र भरपर्दा प्रशिक्षक ७८ वर्षीय डिक एडभोकाटलाई टोलीमा भित्रायो । योसँगै एडभोकाट विश्वकपको इतिहासमै सबैभन्दा बढी उमेरका प्रशिक्षक बन्ने निश्चित भएको छ ।

null

टोलीमा देखिएको यो प्रशिक्षक फेर–बदलले अस्थिरता निम्त्याउने डर थियो । तर, अहिले खेलाडीहरू सबै कुरा भुलेर पूर्ण एकाग्रताका साथ विश्वकपको तयारीमा व्यस्त छन् ।

‘डेभिड’विरुद्ध ‘गोलियाथ’

आगामी विश्वकपको समूहगत चरणमा कुराकाओले जर्मनी, आइभरी कोस्ट र इक्वेडरजस्ता दिग्गजसँग भिडन्त गर्नुपर्नेछ ।

 

फिफा वरियता र इतिहास हेर्दा यो लडाईं पक्कै पनि ‘डेभिड र गोलियाथ’जस्तै हो । ‘डेभिडविरुद्ध गोलियाथ’को अर्थ हुन्छ, ‘एउटा यस्तो प्रतिस्पर्धा जहाँ निकै कमजोर व्यक्ति, टोली वा संगठनले आफूभन्दा निकै शक्तिशाली प्रतिद्वन्द्वीको सामना गर्छ ।’

तर, कुराकाओ फुटबल संघका अध्यक्ष गिल्बर्ट मार्टिना भन्छन्, ‘जर्मनीसँगको पहिलो खेल हाम्रा लागि निर्णायक हुनेछ । हामी डराउँदैनौँ, हामी इतिहास बदल्न आएका हौँ ।’

यतिबेला कुराकाओको चर्चा केवल खेल मैदानमा मात्र सिमित छैन, बरु उनीहरूको पहिरनसँग पनि भावनात्मक रूपमा गाँसिएको छ ।

विश्वकपका लागि एडिडासले तयार पारेको कुराकाओको जर्सीको अहिले विश्वभर नै मागमा छ । यद्यपि, टोलीको छनोट अनपेक्षित भएकाले जर्सीको उत्पादनमा ढिलाइ भइरहेको छ, जसले यो जर्सीलाई झनै दुर्लभ र विशेष बनाएको छ ।

भविष्यतर्फको सुखद यात्रा

कुराकाओको यो सफलताले देशको खेल पूर्वाधारमा पनि निकै ठूलो परिवर्तन ल्याएको छ । एर्गिलियो हाटो स्टेडियमको पून:र्निर्माण होस् वा युवा एकेडेमीमा बढेको लगानी । त्यसैले यो विश्वकप केवल एउटा प्रतियोगिता होइन, कुराकाओको फुटबल भविष्यको आधारस्तम्भ पनि हो ।

null

टापुका अधिकांश युवाले अब बेसबलका ब्याट छाडेर फुटबलको बलमा भविष्य देख्न थालेका छन् । विश्वकपमा सहभागी हुनु नै कुराकाओका लागि ठूलो सफलता हो ।

अब हेर्न बाँकी छ, क्यारेबियन समुद्रको यो सानो छाल ‘ब्लू वेभ’ले विश्वकपको मैदानमा कति ठूलो सुनामी ल्याउँछ ।

के कुराकाओले जर्मनीजस्ता पावरहाउसलाई स्तब्ध पार्न सक्ला ? त्यो त समयले नै बताउने  । तर, एउटा कुरा भने पक्का छ, सन् २०२६ को विश्वकपमा विश्वले एउटा यस्तो टोलीलाई हेर्नेछ, जुन टोली रगत र पसिना बगाउनभन्दा पनि आफ्नो छुट्टै ‘पहिचान’का लागि मैदानमा ओर्लने छ ।

‘ब्लू वेभ’ का प्रमुख सारथी : जसको काँधमा कुराकाओको सपना छ

कुराकाओको ऐतिहासिक विश्वकप यात्रा केवल सामूहिक प्रयासको उपज मात्र होइन, यसमा केही अनुभवी खेलाडीहरूको विशेष योगदान पनि छ ।

विश्वकपजस्तो ठूलो मञ्चमा आफूलाई प्रमाणित गर्न तयार रहेका ‘ब्लू वेभ’का प्रमुख खेलाडीमध्ये एक हुन्, रंगेलो जङ्गा ।

null

उनलाई टोलीको ‘गोल मेसिन’ पनि भनिन्छ । कुराकाओका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका जङ्गा टोलीको मुख्य आक्रामक हतियार हुन् ।

नेदरल्यान्ड्स, बेल्जियम, स्लोभाकिया, साइप्रस र कजाकस्तानजस्ता विभिन्न देशका लिगमा खेलेको अनुभवले उनलाई परिपक्व स्ट्राइकरका रुपमा स्थापित गराएको छ ।

कन्काकाफ प्रतियोगिताहरूमा पटक–पटक दोहोरो अंकको गोल संख्या पूरा गरिसकेका जङ्गाको उपस्थितिले विपक्षी टोलीको रक्षापंक्तिलाई सधैं तनाव दिने गरेको छ ।

यसैगरी, काराकाओका अर्का प्रभावशाली खेलाडी हुन्, लियान्ड्रो बाकुना । उनी टोलीका रणनीतिक मियो पनि हुन् । उनी मिडफिल्ड र डिफेन्सलाई सन्तुलनमा राख्न सक्ने क्षमता भएका खेलाडी हुन् ।

एस्टन भिल्ला र कार्डिफ सिटीजस्ता क्लबबाट प्रिमियर लिग र च्याम्पियनसिपको अनुभव बटुलिसकेका बाकुनाको खेलजीवन निकै खारिएको छ ।

null

इङ्ल्यान्डको फुटबलबाट सुरु भएर इरेडिभिसी हुँदै हाल टर्कीको लिगसम्मको उनको यात्राले उनलाई एक अनुभवी खेलाडीका रूपमा स्थापित गरेको छ ।

अनुभव र युवा जोशको सन्तुलन जङ्गा र बाकुनाको यो जोडी कुराकाओको टोलीका लागि ‘अनुभवी आधारस्तम्भ’ हो ।

विश्वकपजस्तो दबाबपूर्ण प्रतियोगितामा यिनै खेलाडीहरूको अन्तर्राष्ट्रिय अनुभवले टोलीलाई सही दिशा दिने विश्वास गरिएको छ ।

null

लामो समयदेखि युरोपेली लिगहरूमा संघर्ष गर्दै आएका यी खेलाडीले आफ्नो क्लबबाट सिकेको अनुभवलाई अब विश्वकपमा प्रयोग गर्नेछन् ।

यिनै अनुभवी खेलाडीको नेतृत्वमा कुराकाओले आफ्नो पहिलो विश्वकपमा केवल सहभागिता मात्र नभई केही उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य राखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्