
एमजी मोटर इन्डियाको आधिकारिक आयातकर्ता तथा वितरक जीओ अटोमोबाइल्स प्रालिले नेपाली बजारमा नयाँ एमजी हेक्टर औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
काठमाडौंको थापाथलीस्थित एमजी शोरूममा बिहीबार एक समारोह आयोजना गर्दै यसको बिक्री–वितरण खुल्ला गरिएको हो ।
केही समय अघि मात्रै सार्वजनिक भएका एमजी विन्डसर र एमजी कमेटको सफलतापछि कम्पनीले नयाँ हेक्टर बजारमा ल्याएको हो । यससँगै नेपालमा एमजी ब्रान्डका सवारीसाधनको दायरा थप विस्तार भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा स्तरोन्नत प्रविधि, थप प्रिमियम विशेषता तथा अझ आकर्षक बाह्य स्वरूप समावेश गरिएको छ ।
समान मूल्य समूहका अन्य प्रतिस्पर्धी सवारीसाधनको तुलनामा नयाँ हेक्टरले ठूलो एसयूभी अनुभव, उत्कृष्ट सुविधा, उच्च आराम तथा दैनिक प्रयोगमा बढी उपयोगिता प्रदान गर्ने दाबी गरिएको छ ।

आधुनिक परिवार तथा प्रविधिमैत्री एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरी तयार गरिएको नयाँ एमजी हेक्टरमा आकर्षक डिजाइनसँगै परिष्कृत चालक अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ ।
सवारीसाधनमा प्रिमियम आन्तरिक सजावट, स्मार्ट जडान प्रणाली, उत्कृष्ट सुरक्षा सुविधा, फराकिलो केबिन तथा प्रयोगकर्तामैत्री सुविधा समावेश गरिएको छ ।
कम्पनीका अनुसार यो नयाँ संस्करण बजारमा यसअघि उपलब्ध हेक्टरको तुलनामा डिजाइन, प्रविधि, सुविधा तथा समग्र प्रिमियम अनुभवका हिसाबले उल्लेखनीय रूपमा परिष्कृत छ ।
सार्वजनिकरण कार्यक्रममा बोल्दै जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले नयाँ एमजी हेक्टर नेपाली बजारमा ल्याउन पाउँदा खुशी लागेको बताए ।

उनका अनुसार, ‘एमजी हेक्टर विश्वभर एमजीको सबैभन्दा लोकप्रिय र परिष्कृत एसयूभीमध्ये एक हो । यसको प्रिमियम अनुभव, उत्कृष्ट प्रविधि, फराकिलो बनावट तथा उच्च मूल्य–सुविधा सन्तुलनले ग्राहकको विश्वास जितेको छ । नयाँ सार्वजनिक हेक्टरमा थप सुविधा, उच्च आराम, आकर्षक डिजाइन तथा आधुनिक प्रविधि समावेश गरिएको छ, जसले यसलाई आफ्नो संस्करणमा अझ प्रतिस्पर्धी बनाएको छ ।’
उनले नेपालका ग्राहकका लागि शैली, सुरक्षा, प्रविधि तथा व्यवहारिकताको समिश्रण खोज्नेहरूका लागि नयाँ एमजी हेक्टर उपयुक्त विकल्प हुने विश्वास व्यक्त गरे ।
एमजी हेक्टर नेपालमा ६६ लाख ९९ हजार रूपैयाँ प्रारम्भिक मूल्यबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । यो एसयूभी चार फरक संस्करणमा उपलब्ध गराइएको छ ।

कम्पनीका अनुसार नयाँ एमजी हेक्टरको सार्वजनिकसँगै नेपालमा एमजी ब्रान्डको उपस्थिति अझ सुदृढ हुने अपेक्षा गरिएको छ । साथै जीओ अटोमोबाइल्सले विश्वस्तरीय सवारीसाधनसँगै भरपर्दो बिक्रीपछिको सेवा, आधिकारिक पुर्जाको सहज उपलब्धता तथा ग्राहककेन्द्रित सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
ग्राहकहरूले थापाथलीस्थित एमजी शोरूममा गएर नयाँ एमजी हेक्टर प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । साथै परीक्षण यात्राका लागि बुकिङ वा थप जानकारीका लागि ९८१०२००६२ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।






