
वर्तमान डिजिटल युगमा सामाजिक सञ्जालको शक्ति कुन हदसम्म प्रभावशाली हुनसक्छ भन्ने एउटा ताजा र अचम्मको उदाहरण इन्टरनेटमा देखिएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा काल्पनिक राजनीतिक दल 'कक्रोच जनता पार्टी'ले निकै ठूलो हलचल मच्चाएको छ । मात्र पाँच दिनअघि गठन भएको यो काल्पनिक दलले इन्टरनेट र विशेष गरी इन्स्टाग्राममा आँधीबेहरी ल्याउँदै लाखौँ मात्रै हवइन, करवड फलोअर्स कमाएको छ ।
यसको फलोअर्स बढ्ने अचम्मको गतिले सामाजिक सञ्जालका दिग्गज र विश्लेषकहरूलाई समेत पूर्ण रूपमा छक्क पारेको छ। अनौठो कुरा त के छ भने यो काल्पनिक पार्टीले इन्स्टाग्राम फलोअर्सको मामिलामा भारतको सबैभन्दा ठूलो र वास्तविक राजनीतिक दल भारतीय जनता पार्टी (भाजपा)लाई समेत धेरै पछाडि छाडिदिएको छ।
काल्पनिक पार्टीको आधिकारिक इन्स्टाग्राम पेज मे १६ मा पहिलो पटक लाइभ भएको थियो । डिजिटल संसारमा पाइला चालेको सुरुवाती ४८ घण्टाभित्रै यसले ५५ लाख फलोअर्सको संख्या पार गरेर आफ्नो बलियो उपस्थितिको संकेत दिएको थाल्यो ।
त्यसपछिका दिनहरूमा यसको लोकप्रियता झनै तीव्र गतिमा अगाडि बढ्यो। तेस्रो दिनसम्म आइपुग्दा यो संख्या ६२ लाख पुग्यो भने केवल चार दिनको छोटो अवधिमा यस पेजले १ करोड २० लाखभन्दा बढी फलोअर्स बटुल्न सफल भएको छ । प्रत्येक मिनेटमा यसका फलोअर्सहरू द्रुत गतिमा थपिइरहेका छन्।
हाल भारतीय जनता पार्टी (भाजपा) को आधिकारिक इन्स्टाग्राम पेजमा लगभग ८७ लाख फलोअर्स रहेका छन्। तर सामाजिक सञ्जालमा भर्खरै जन्मिएको कक्रोच जनता पार्टीले १ करोड २१ लाख फलोअर्सको साथ भाजपालाई निकै पछाडि पारेको छ।
भारतका प्रधानन्यायाधीश सूर्य कान्तले बेरोजगार युवाहरूका सन्दर्भमा दिएको एउटा विवादास्पद भनाइ सामाजिक सञ्जालमा भाइरल भएपछि कक्रोच जनता पार्टीको अवधारणा बाहिर आएको हो। यसपछि अभिजीत दीपक नामका एक व्यक्तिले गत मे १६ मा यसलाई एउटा हास्यपूर्ण र व्यङ्ग्यात्मक अभियानको रूपमा शुरू गरेका थिए।
अभियानको विचार कहाँबाट आयो भन्नेबारे मिडियासँग कुरा गर्दै संस्थापक एवं संयोजक अभिजीत दीपकले आफूले ट्विटर (अहिलेको एक्स) मा भारतका प्रधानन्यायाधीशको एउटा बयान देखेको बताएका छन्, जसमा प्रधानन्यायाधीशले प्रणालीको आलोचना गर्ने र आफ्ना विचार व्यक्त गर्ने देशका युवाहरूलाई साङ्ला (कक्रोच) र परजीवीहरूसँग तुलना गरेका थिए ।
युवा र साङ्लाबारे आएको त्यही अभिव्यक्तिपछि ककरोच जनता पार्टी अभियान सामाजिक सञ्जालमा सबैभन्दा ठूलो चर्चाको विषय बन्न पुग्यो।
यो पार्टी विशेष गरी युवा पुस्ता अर्थात् 'जेनजीका बीचमा एउटा नयाँ इन्टरनेट प्रवृत्तिको रूपमा स्थापित भएको छ। इन्स्टाग्राम रिल्स र विभिन्न मीम्सहरूमा मानिसहरूले हास्यपूर्ण र व्यङ्ग्यात्मक रूपमा आफू पनि यो पार्टीको नेता बन्न योग्य भएको दाबी गरिरहेका छन्।
ककरोच पार्टीले आफ्नो पेजमा निकै संक्षिप्त र छोटा भिडियोहरू सिर्जना गरेर पोस्ट गर्ने गरेको छ। यी भिडियोहरूमा आम सर्वसाधारण र युवाहरूको आक्रोश, दैनिक जीवनका भोगाइ र हास्यरसलाई अत्यन्तै स्पष्ट र मार्मिक रूपमा प्रस्तुत गरिएको छ।
भिडियो हेर्ने प्रत्येक प्रयोगकर्ताले ती सामग्रीहरूमा आफ्नोपन र गहिरो सम्बन्ध महसुस गर्ने गरेका छन्। यही बलियो भावनात्मक र सामाजिक सम्बन्धका कारण भिडियो हेर्ने समय (वाच टाइम)मा उल्लेखनीय वृद्धि भयो र यो पृष्ठ रातारात इन्टरनेट सनसनी बन्न पुग्यो।
अभियानको प्रभाव इन्स्टाग्राममा मात्र सीमित नरहेर इन्टरनेटका अन्य माध्यमहरूमा पनि तीव्र रूपमा फैलिरहेको छ। अनलाइनमा यस पार्टीको नाममा एउटा छुट्टै वेबसाइट समेत निर्माण गरिएको छ भने ट्विटरमा पनि यसका उल्लेखनीय फलोअर्सहरू थपिइरहेका छन्। उक्त वेबसाइटमा सदस्यता लिन हालसम्म २ लाखभन्दा बढी मानिसहरूले आफ्नो नाम दर्ता गराइसकेको रिपोर्ट बाहिर आएको छ। वेबसाइटमा यसका संस्थापक र संयोजकको रूपमा अभिजीत दीपककै नाम सूचीबद्ध गरिएको छ।
यद्यपि, एउटा परिपक्व र प्राविधिक दृष्टिकोणबाट हेर्दा, सामाजिक सञ्जालमा देखिएको यो विशाल फलोअर्सको संख्याको अर्थ मानिसहरूले वास्तवमै यो पार्टीलाई राजनीतिक रूपमा समर्थन गरिरहेका छन् वा यसका सबै फलोअरहरू सतप्रतिशत वास्तविक नै हुन् भनेर ठोकुवा गर्न भने गाह्रो हुन्छ।
यस्तो हुनुमा इन्स्टाग्रामको विशेष एल्गोरिथ्मले पनि मुख्य भूमिका खेलेको हुन्छ। यदि कुनै नयाँ भिडियोले पोस्ट हुनेवित्तिकै लाइक, सेयर र कमेन्टहरूमा द्रुत गति प्राप्त गर्छ भने इन्स्टाग्रामको प्रणालीले स्वचालित रूपमा त्यो भिडियोलाई विश्वभरका धेरैभन्दा धेरै मानिसहरूको स्क्रिनसम्म पुर्याउने गर्दछ।
फलोअर्सको वास्तविकता र भविष्यको राजनीतिक अर्थ जेसुकै भए तापनि, एउटा कुरा भने पूर्ण रूपमा निश्चित भएको छ कि यो खाता निकै छोटो समयमा विश्वकै ध्यान आकर्षित गर्न र डिजिटल दुनियाँमा एउटा बलियो छाप छोड्न पूर्ण रूपमा सफल भएको छ ।