
पर्फेट्टी भ्यान मेल्ले नेपालले स्थानीय रूपमा उत्पादन गरिएको सेन्टरफ्रुट बबलगमको पहिलो निर्यात शुरू गर्दै नेपालको FMCG उत्पादन तथा निर्यात क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
केवल पाँच वर्षको अवधिमा पूर्ण रूपमा आयातमा निर्भर व्यवसायबाट स्थानीय उत्पादन र अब निर्यातसम्मको यात्रा तय गर्दै पीभीएम नेपालले आफ्नो व्यावसायिक विकासमा नयाँ अध्याय शुरू गरेको हो ।
यसै महिनाको शुरूआतमा ‘मेड इन नेपाल’ सेन्टरफ्रुट बबलगमको पहिलो निर्यात खेप औपचारिक रूपमा प्रस्थान गरिएको थियो, जसले नेपालको उत्पादन क्षमता तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक उपस्थितिलाई थप बलियो बनाएको छ ।
यो उपलब्धि FY24 मा सफलतापूर्वक स्थानीय उत्पादन शुरू गरेपछि सम्भव भएको हो । स्थानीय उत्पादनमार्फत कम्पनीले सप्लाइ चेन सुदृढीकरण, उत्पादन उपलब्धता वृद्धि तथा सञ्चालन दक्षता सुधार गर्दै अन्तर्राष्ट्रिय गुणस्तर कायम राख्न सफल भएको जनाएको छ ।
यस अवसरमा पर्फेट्टी भ्यान मेल्ले नेपालका कन्ट्री म्यानेजर मयंक पाण्डेले भने, ‘१०० प्रतिशत आयातबाट स्थानीय उत्पादन स्थापना गर्दै अब निर्यात शुरू गर्नु पीभीएम नेपालका लागि गर्वको क्षण हो । यो उपलब्धि सम्पूर्ण नेपाल टिमको मेहनत, समर्पण तथा हाम्रो बिजनेस युनिट र ग्लोबल नेतृत्वको निरन्तर सहयोग र रणनीतिक मार्गदर्शनको परिणाम हो ।’
यस निर्यात पहलले नेपालमा उत्पादन भइरहेको FMCG उत्पादनहरूको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता प्रमाणित गर्नुका साथै नेपाललाई निर्यातमुखी अर्थतन्त्रतर्फ अघि बढाउने राष्ट्रिय लक्ष्यलाई समेत सहयोग पुर्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
पहिलो निर्यात खेपमा पीभीएम नेपालको स्थानीय उत्पादन केन्द्रमा अन्तर्राष्ट्रिय गुणस्तर तथा मापदण्डअनुसार उत्पादन गरिएको सेन्टरफ्रुट बबलगम समावेश गरिएको छ । कम्पनीका अनुसार यसले आगामी दिनमा नेपालमै उत्पादित अन्य कन्फेक्सनरी उत्पादनहरूको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि थप अवसर सिर्जना गर्नेछ ।
पीभीएम नेपालले यस उपलब्धिलाई केवल व्यावसायिक सफलता मात्र नभई स्थानीय उत्पादन क्षमता विकास, रोजगारी सिर्जना तथा नेपालको औद्योगिक विकासतर्फको दीर्घकालीन प्रतिबद्धताको रूपमा समेत व्याख्या गरेको छ ।
पर्फेट्टी भ्यान मेल्ले नेपाल विश्वकै अग्रणी कन्फेक्सनरी तथा च्युइङगम उत्पादक कम्पनीमध्ये एक पर्फेट्टी भ्यान मेल्ले समूहअन्तर्गत सञ्चालनमा रहेको कम्पनी हो । कम्पनीले सेन्टरफ्रुट, सेन्टर फ्रेश, अल्पेनलिबे, मेन्टोस, चुपा चुप्स तथा ह्याप्पीडेन्टजस्ता अन्तर्राष्ट्रिय ब्रान्ड नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।