२८ जेठ २०८३, बिहीबार

सन् २००९ को विमान दुर्घटना प्रकरण: एयर फ्रान्स र एयरबस दोषी ठहर

जेठ ७, २०८३
काठमाडौं
सन् २००९ को विमान दुर्घटना प्रकरण: एयर फ्रान्स र एयरबस दोषी ठहर

सन् २००९ मा २२८ जनाको ज्यान जाने गरी एटलान्टिक महासागरमा भएको भयानक विमान दुर्घटनाको मामिलामा पेरिसको एक पुनरावेदन अदालतले एयर फ्रान्स र एयरबस दुवै कम्पनीलाई दोषी ठहर गरेको छ। 

अदालतले ती कम्पनीहरूलाई 'नियतविनाको हत्या'को अभियोगमा दोषी ठहर गरेको हो।

रियो दि जेनेरियोबाट पेरिसका लागि उडेको जहाज आँधीमा फसेर समुद्रमा खसेको थियो। यसअघि अप्रिल २०२३ मा तल्लो अदालतले यी दुवै कम्पनीलाई सफाइ दिएको थियो। तर, पीडितका परिवारले गरेको पुनरावेदनपछि अदालतले पुरानो फैसला उल्ट्याउँदै कम्पनीहरूको लापरबाही देखिएको फैसला सुनाएको छ।

अदालतले एयर फ्रान्स र एयरबस दुवैलाई अधिकतम २ लाख २५ हजार युरो जरिवाना तिर्न आदेश दिएको छ। यद्यपि, मृतकका केही परिवारले यो जरिवाना रकम निकै कम भएको भन्दै आलोचना गरेका छन्। जरिवाना रकम कम भए पनि यो फैसलाले विश्वकै प्रतिष्ठित उड्डयन कम्पनीहरूको छविमा ठूलो धक्का पुगेको विश्लेषण गरिएको छ।

१ जुन २००९ मा भएको यो दुर्घटना फ्रान्सेली उड्डयन इतिहासकै सबैभन्दा घातक घटना मानिन्छ। ३८ हजार फिटको उचाइबाट विमान समुद्रमा खस्दा चालक दलका १२ सदस्य र २१६ यात्रुसहित सबै २२८ जनाको मृत्यु भएको थियो। दुर्घटनापछि झन्डै दुई वर्षसम्म समुद्रको १० हजार वर्ग किलोमिटर क्षेत्रमा खोजतलास गर्दा सन् २०११ मा मात्र विमानको 'ब्ल्याक बक्स' फेला परेको थियो।

सुनुवाइका क्रममा सरकारी वकिलहरूले कम्पनीहरूको व्यवहारलाई 'अस्वीकार्य' भन्दै उनीहरूले आफ्नो बचाउमा हावादारी तर्कहरू पेस गरेको आरोप लगाएका थिए। अनुसन्धानले आँधीका बेला विमानको गतिको जानकारी दिने 'पिटोट ट्युब्स' जमेका कारण पाइलटहरूले विमानको नियन्त्रण गुमाएको देखाएको थियो।

पीडित यात्रुहरूमा मुख्यतया फ्रान्सेली, ब्राजिलियाली र जर्मन नागरिकहरू थिए। बिहीबार फैसला सुन्न अदालतमा मृतकका आफन्तहरूको ठूलो उपस्थिति थियो। यता, एयर फ्रान्स र एयरबस दुवैले अभियोगहरू अस्वीकार गर्दै आएका छन् र उनीहरूले यो फैसला विरुद्ध पुनः माथिल्लो अदालतमा पुनरावेदन गर्न सक्ने सम्भावना रहेको छ।

दुई दशकअघिको यो दुखद घटनामा ज्यान गुमाएकामध्ये एक ४० वर्षीय इन्जिनियर नेल्सन मारिन्हो फिलहोका पिताले आफ्नो छोराको अस्तु पाउन मात्रै पनि दुई वर्ष कुर्नुपरेको पीडा सुनाउँदै न्यायको पखाइमा आफूहरू रहेको बताएका छन्।

salt training

कमेन्ट गर्नुहोस्