
पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट दुई गोलको मद्दतले अल नासरले साउदी प्रो लिगको उपाधि जितेको छ । सिजनको अन्तिम खेलमा डामकलाई ४–१ गोल अन्तरले पराजित गर्दै अल नासर सन् २०१९ पछि पहिलो पटक साउदी लिगको च्याम्पियन बनेको हो ।
अल नासरलाई उपाधि दिलाउन रोनाल्डोसँगै साडियो माने र किंग्सले कोमानले पनि एक–एक गोल गरे । यो जितसँगै जर्ज जिससको टोली अल नासरले लिगमा ८६ अंक जोड्दै उपाधि सुनिश्चित गर्यो ।
उपाधि दौडमा रहेको कट्टर प्रतिद्वन्द्वी अल हिलालले आफ्नो अन्तिम खेलमा अल फायहालाई १–० ले पराजित गरे पनि अल नासरभन्दा दुई अंकले पछि पर्दै दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।
सन् २०२२ को अन्त्यतिर क्लबमा आबद्ध भएका ४१ वर्षीय रोनाल्डोका लागि साउदी अरबमा यो पहिलो मुख्य लिग उपाधि हो । यससँगै रोनाल्डोको पाँच वर्ष लामो ट्रफी खडेरी समेत अन्त्य भएको छ । उनले यसअघि सन् २०२१ मा युभेन्टसबाट कोपा इटालिया जितेका थिए भने अल नासरमा आएपछि अनौपचारिक मानिने अरब क्लब च्याम्पियन्स कप मात्र जितेका थिए ।

तनावपूर्ण मानिएको अन्तिम खेलको ३४औँ मिनेटमा साडियो मानेको गोलबाट अल नासरले शुरूआती अग्रता लिएको थियो । जोआओ फेलिक्सको कर्नर बललाई हेडमार्फत जाली चुमाउँदै मानेले टोलीलाई पहिलो सफलता दिलाएका हुन् । दोस्रो हाफको शुरूआतमै अर्थात् ५२औँ मिनेटमा किंग्सले कोमानले डिफेन्सलाई छक्काउँदै डिपिबक्स बाहिरबाट उत्कृष्ट देब्रे खुट्टाको प्रहारमार्फत गोल गरी अल नासरको अग्रता दोब्बर बनाए ।
खेलको ५८औँ मिनेटमा डामकका मोर्लाये सिलाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए र खेलमा फर्किने संकेत गरे । तर, डामकको त्यो खुसी धेरै समय टिक्न पाएन । त्यसको पाँच मिनेटपछि नै अर्थात् ६३औँ मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै अल नासरलाई ३–१ को सुरक्षित स्थितिमा पुर्याए । खेलको ८१औँ मिनेटमा डामकका डिफेन्डरहरूले क्रस बललाई क्लियर गर्न नसक्दा प्राप्त बललाई रोनाल्डोले प्रहार गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेर अल नासरको जित र उपाधि पक्का गरे ।