
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबा अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा भएको बताएका छन् ।
उनले दुई देशबीच तत्काल शान्तिपूर्ण सम्झौता हुने सम्भावना न्यून रहेको समेत बताए । सन् १९९६ मा अमेरिकी नागरिक सवार दुईवटा विमान खसालेर हत्या गरेको अभियोगमा अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध मुद्दा दर्ता गरेलगत्तै रुबियोको यस्तो टिप्पणी आएको हो।
विदेशमन्त्री रुबियोले क्युबालाई यस क्षेत्रमा आतंकवादको मुख्य प्रायोजक भएको आरोप लगाउँदै वासिङ्टनले कूटनीतिक समाधान चाहे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको सुरक्षाका लागि जुनसुकै कदम चाल्न सक्ने चेतावनी दिए।
यता क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगेजले रुबियोको भनाइलाई झूट भन्दै क्युबाले कहिल्यै पनि अमेरिकालाई खतरा नपुऱ्याएको दाबी गरेका छन्।
उनले अमेरिकाले सैन्य आक्रमणलाई उक्साउन खोजेको र क्युबामाथि निर्ममतापूर्वक प्रहार गरिरहेको आरोप लगाए।
हाल क्युबा गम्भीर इन्धन संकट, खाद्य अभाव र लामो समयदेखिको विद्युत कटौतीका कारण आक्रान्त छ। राष्ट्रपति ट्रम्पले क्युबालाई विफल राष्ट्र भन्दै दशकौँदेखि अन्य राष्ट्रपतिले गर्न नसकेको काम (सत्ता परिवर्तनतर्फ संकेत गर्दै) आफूले गरेर देखाउने बताएका छन्।
यसैबीच, अमेरिकाले क्युबाली सैन्य अधिकारीका नातेदारलाई फ्लोरिडाबाट पक्राउ गरी निर्वासनको प्रक्रिया समेत सुरु गरेको बीबीसीको समाचारमा उल्लेख छ ।