
कार्यस्थलमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तीव्र रूपमा बढिरहेका बेला भारत यस क्षेत्रमा विश्वकै नेतृत्वदायी मुलुकका रूपमा उदय भएको छ। एडीपी रिसर्चले सार्वजनिक गरेको पछिल्लो 'पिपल एट वर्क २०२६' प्रतिवेदनअनुसार भारतका झन्डै ८० प्रतिशत कर्मचारीहरूले हप्तामा कम्तीमा दुई वा सोभन्दा बढी पटक एआईको प्रयोग गर्ने गरेका छन् भने ४१ प्रतिशतले यसलाई आफ्नो दैनिक कार्यतालिकाको हिस्सा बनाएका छन्। यो आँकडा विश्वका अन्य सबै सर्वेक्षण गरिएका बजारहरूमध्येकै सबैभन्दा उच्च हो।
विश्वभरका कर्मचारीहरूको कार्यशैलीमा एआईको प्रभावबारे गरिएको अनुसन्धानले प्रविधि कसरी मानिसको दैनिकीसँग जोडिँदै गएको छ भन्ने कुरा प्रस्ट पारेको छ। विश्वव्यापी रूपमा हेर्दा आधाजसो कर्मचारीले हप्तामा पटक–पटक एआई प्रयोग गर्छन् भने प्रत्येक पाँचमध्ये एक जनाले यसलाई लगभग हरेक दिन उपयोग गरिरहेका छन् । प्रतिवेदनले भारतसँगै नाइजेरियामा ३९ प्रतिशत र भियतनाममा ३६ प्रतिशत कर्मचारीले दैनिक रूपमा एआई प्रयोग गर्ने गरेको देखाएको छ, जसले यी देशहरूलाई प्रविधि आत्मसात्करणमा अग्रपंक्तिमा उभ्याएको छ।
तर, एआईको बढ्दो प्रयोगसँगै उत्पादकत्वप्रति कर्मचारीहरूको दृष्टिकोणमा भने एक किसिमको विरोधाभास र असन्तुष्टि पनि देखिएको छ। दैनिक रूपमा एआई प्रयोग गर्नेमध्ये ३० प्रतिशत कर्मचारीहरू कार्यस्थलमा पूर्ण रूपमा व्यस्त र समर्पित रहेको पाइए पनि उनीहरूले एआई प्रयोग नगर्नेहरूको तुलनामा आफू कम उत्पादक भएको महसुस गर्ने सम्भावना चार गुणा बढी पाइएको छ।
एआईले दैनिक र नियमित स्वरूपका कागजी तथा प्राविधिक कामहरू गरिदिँदा कर्मचारीहरूलाई आफ्नो वास्तविक योगदान र कार्यसम्पादनको मूल्याङ्कन गर्न वा मापन गर्न गाह्रो भइरहेको बुझिएको छ। विशेष गरी भारतमा यो प्रवृत्ति बलियो रूपमा देखिएको छ, जहाँ प्रविधिको व्यापकताले कार्यसम्पादन र मानवीय मूल्यका स्थापित मापदण्डहरूलाई चुनौती दिइरहेको छ।
यस विषयमा टिप्पणी गर्दै एडीपीका विशेषज्ञ राहुल गोयलले उच्च प्रविधि अङ्गीकार गर्दैमा उत्पादकत्वको ग्यारेन्टी नहुने बताएका छन्। उनका अनुसार धेरै कर्मचारीहरूमा आफ्नो करियरको भविष्यलाई लिएर एउटा मौन छटपटी र डर छ, किनकि एआईले उनीहरूको कामको मूल्याङ्कन प्रणालीलाई अस्पष्ट बनाइदिएको छ।
एआईले परम्परागत र प्रक्रियागत कामहरू सम्हाल्न थालेपछि अब कर्मचारीहरूले आफ्नो ध्यान निर्णय क्षमता, रचनात्मकता र मानवीय सम्बन्ध आवश्यक पर्ने कामहरूमा केन्द्रित गर्नुपर्ने अवस्था आएको छ। गोयलले अबका दिनमा संस्थाहरूले उत्पादकत्वको परिभाषा बदल्नुपर्ने र रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूलाई केवल कार्यकुशल मात्र नबनाई प्रविधिसँगै अघि बढ्न सक्ने गरी अनुकूलन बन्न सिकाउनुपर्नेमा जोड दिएका छन्।