२९ जेठ २०८३, शुक्रबार
विश्वकप फूटबल शृंखला- ११

नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो

जेठ ८, २०८३
काठमाडौं
नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो

विश्व खेलकुदको इतिहासमा केही यस्ता क्षण हुन्छन्, जसले समयको लामो कालखण्ड पार गरेर पनि आफ्नो चमक गुमाउँदैनन् । त्यस्तै एक ऐतिहासिक र अविस्मरणीय क्षण हो, सन् १९७० को नवौँ फिफा विश्वकप ।

विश्वकपको नवौँ संस्करण मे ३१ देखि जुन २१ तारिखसम्म मेक्सिकोमा आयोजना भएको थियो । विश्वकपको यो संस्करण विश्व फूटबलले आफ्नो उच्चतम कलात्मक स्वरूप प्रदर्शन गरेको एक ‘सांस्कृतिक महोत्सव’ पनि थियो ।

यो विश्वकपमा ओसेनियाबाहेक अन्य सबै महादेशको प्रतिनिधित्व थियो । एसियाबाट इजरायल र अफ्रिकाबाट मोरक्को सहभागी थिए । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट एल साल्भाडोर र मेक्सिकोले भाग लिएका थिए ।  

यसैगरी, दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे र पेरु सहभागी थिए । युरोपबाट बेल्जियम, बुल्गेरिया, चेकोस्लोभाकिया, इङ्ल्यान्ड, इटाली, रोमानिया, सोभियत संघ, स्वीडेन र पश्चिम जर्मनीले भाग लिएका थिए । इजरायल, मोरक्को र एल साल्भाडोरको यो पहिलो विश्वकप थियो ।

००

null

पहिलोपटक युरोप र दक्षिण अमेरिकाबाहिर

सन् १९७० को विश्वकपले एउटा पुरानो परम्परा तोडेको थियो । यो विश्वकप आयोजनाको जिम्मा मेक्सिकोले पाउँदा धेरैले अचम्म मानेका थिए । त्यतिबेला मेक्सिको विश्व फूटबलमा खासै चर्चामा थिएन ।

तर, फिफाको यो निर्णयले विश्वकपलाई पहिलोपटक युरोप र दक्षिण अमेरिकाको घेराबाट बाहिर निकाल्दै विश्वव्यापी बनाएको थियो ।

यो संस्करणमा ७५ राष्ट्रले छनोट प्रतियोगितामा भाग लिएका थिए । त्यसमध्ये १४ टोलीले फाइनल चरणमा स्थान सुरक्षित गरे ।

००
null

नयाँ प्रविधि र नयाँ नियमको नयाँ युग

मेक्सिको विश्वकप प्राविधि प्रयोगको हिसाबले कोसेढुङ्गा थियो । यो विश्वकपका खेलहरू पनि पहिलोपटक ‘रंगीन टेलिभिजन’मार्फत प्रसारण भएको थियो । यसले विश्वभरका फूटबल पारखीहरूलाई घरमै बसेर रंगीन फूटबलको आनन्द लिने अवसर जुराएको थियो ।

यही संस्करणबाट विश्व फूटबलका केही आधारभूत नियम पनि फेरिएका थिए । खेलाडी प्रतिस्थापनको नियम पनि परिवर्तन भएको थियो । जसअन्तर्गत खेलका क्रममा प्रत्येक टोलीले दुई खेलाडीमात्र परिवर्तन गर्न पाउने नयाँ नियम लागू गरियो ।

यसैगरी, रेफ्रीले प्रयोग गर्ने कार्ड प्रणालीमा पनि परिवर्तन गरिएको थियो । खेललाई व्यवस्थित गर्न पहिलोपटक पहेँलो र रातो कार्डको अवधारणा ल्याइयो ।

मेक्सिको र रुसबीचको उद्घाटन खेलमा रेफ्री कुर्ट सेन्चरले विश्वकप इतिहासकै पहिलो पहेँलो कार्ड प्रयोग गरेका थिए । तर, विश्वकप अवधिभर कसैले पनि रातो कार्डको भने सामना गर्नु परेन । एडिडासले निर्माण गरेको ‘टेलस्टार’ बल पहिलोपटक आधिकारिक रूपमा प्रयोग गरियो ।

००

null

‘द ब्युटिफुल टीम’ को उदय

यो विश्वकपको सबैभन्दा ठूलो आकर्षण थियो, ब्राजिल ।

सन् १९५० को पीडादायी हार भुल्न चाहिरहेको ब्राजिलले मेक्सिकोमा यस्तो प्रदर्शन गर्‍यो, जसले आजसम्म पनि फूटबलका अध्येताहरूलाई रोमाञ्चित बनाउँछ ।

पेले, गार्सन, रिभेलिनो, जर्जिनियो र टोस्टाओजस्ता खेलाडीलाई प्रशिक्षक मारियो जागाल्लोले एकै टोलीमा समेटेर उत्कृष्ट तालमेल बनाएका थिए । वास्तवमै प्रशिक्षक जागाल्लोको त्यो क्षमता विश्व फूटबलमा एउटा चमत्कार नै थियो ।

null

ब्राजिलको टोलीलाई पेले आफैंले ‘द ब्युटिफुल टीम’को नाम दिएका थिए । फाइनलमा इटालीविरुद्ध ब्राजिलले निकालेको ४–१ गोलको जित केवल एक नतिजा थिएन, त्यो ‘फूटबल कला’ र ‘नतिजामुखी’ खेलबीचको लडाइँमा कलाको विजय थियो ।

null

००

फूटबलको त्यो ‘शताब्दी खेल’

सन् १९७० को विश्वकपमा इटाली र पश्चिम जर्मनीबीचको सेमिफाइनल खेललाई ‘गेम अफ द सेन्चुरी’ अर्थात, शताब्दी खेल भनिन्छ ।

दुवै टोलीबीचको त्यो प्रतिस्पर्धा यति रोमाञ्चक थियो कि आज पनि मेक्सिकोको एज्टेका रंगशाला बाहिर त्यो खेलको सम्झनामा एउटा शिलापत्र राखिएको छ ।

००

null

फाइनलको त्यो जादुमयी रात

सन् १९७० को विश्वकपको चर्चा गर्दा ब्राजिलको टोलीको नाम नलिए इतिहास नै अधुरो हुन्छ ।

कार्लोस अल्बर्टोको कप्तानीमा रहेको र पेले, गार्सन, जर्जिन्हो, रिभेलिनो, टोस्टाओजस्ता दिग्गज खेलाडीहरूले सजिएको त्यतिबेलाको ब्राजिलियन टोलीलाई फूटबल इतिहासकै सबैभन्दा उत्कृष्ट टोली मानिन्छ ।

null

त्यो विश्वकपमा ब्राजिलले चामत्कारिक प्रदर्शन गर्‍यो । छनोट चरणदेखि फाइनलसम्मका सबै खेलमा विजयी हुँदै ब्राजिलले ‘परफेक्ट’ कीर्तिमान बनायो ।

एक लाख सात हजारभन्दा बढी दर्शकले खचाखच भरिएको अज्टेका रंगशालामा भएको फाइनल खेलमा पेलेले हेडमार्फत गोलको खाता खोलेका थिए ।

null

खेलको अन्त्यतिर कार्लोस अल्बर्टोले गरेको आकर्षक गोललाई आजसम्म पनि विश्वकप इतिहासकै उत्कृष्ट गोलमध्ये एक मानिन्छ ।

फाइनलमा ब्राजिलले इटालीलाई ४–१ गोलको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको थियो । खेल शुरू भएको १८औँ मिनेटमै पेलेले ब्राजिललाई अग्रता दिलाएका थिए ।

निर्धारित समयको ३७औँ मिनेटमा इटालीका रोबर्टो बोनिनसेग्नाले जवाफी गोल फर्काएका थिए । त्यसपछि ब्राजिल खेलमा पूर्णतया हावी भएको थियो ।

ब्राजिलका लागि ६६औँ मिनेटमा गार्सन नुनेजले दोस्रो गोल गरे । ७१औँ मिनेटमा जर्जिन्होले टोलीको अग्रता ३–१ बनाए । ८६औँ मिनेटमा कार्लोस अल्बर्टोले चौथो गोल थपेका थिए ।

यो जितसँगै ब्राजिलले ‘जुल्स रिमेट ट्रफी’ तीनपटक जितेर सधैंका लागि आफ्नो बनाएको थियो । कालान्तरमा विश्वकपको यही मौलिक ट्रफी कहिल्यै नभेटिने गरी चोरीसमेत भयो ।

००

null

नवौँ विश्वकपसँग जोडिएका केही रोचक कथा :

० इटालीकै खेलाडीले गरे पेलेको प्रसंशा : इटालीका डिफेन्डर टार्लिसियो बर्गनिचले खेलपछि पेलेको मुक्तकण्ठले प्रशंसा गरेका थिए । उनले भनेका थिए, ‘मैले आफैंलाई सम्झाएको थिएँ । मलाई लाग्थ्यो, पेले पनि अरूजस्तै छाला र हड्डीका मानिस हुन् । तर, मैदानमा उनीविरुद्ध उत्रिएपछि म गलत सावित भएँ ।’

० लुगासम्म लुछिएका खेलाडी : फाइनलपछि दर्शकहरू मैदानमा ओइरिएका थिए । समर्थकले मजाले खेलाडीसँग खुसी साटासाट गरेका थिए । टोस्टाओ आफ्नो कट्टुमात्र बाँकी रहेका अवस्थामा ड्रेसिङ रुमसम्म पुगेका थिए । पेले पनि सोम्ब्रेरो टोपी र कट्टुमात्र लगाएको अवस्थामा थिए । समर्थकले उनीहरूका जर्सी र बुटहरू स्मृति चिन्हका रूपमा खोसेका थिए ।

० प्रशिक्षकको आकस्मिक आगमन : विश्वकप शुरू हुनुभन्दा केही महिना अघिमात्र ब्राजिलका तत्कालीन प्रशिक्षक जोआओ साल्दान्हा बर्खास्त भएपछि मारियो जागाल्लोलाई ट्याक्सीमा राखेर हतार–हतार प्रशिक्षणमा लगिएको थियो ।

० फूटबल इतिहासकारको प्रशंसा : जोनाथन विल्सनका अनुसार, सन् १९७० को विश्वकप फूटबलको एउटा यस्तो युगको अन्त्य थियो, जहाँ खेलाडीहरूले आफ्नो नैसर्गिक प्रतिभालाई कुनै बाधाविना नै मैदानमा पोख्न पाउँथे ।

आजको आधुनिक र वैज्ञानिक फूटबलमा जस्तो घेराबन्दी र रणनीतिक जटिलता त्यतिबेला कम थियो । त्यसैले, सन् १९७० को मेक्सिको विश्वकपलाई फूटबलको ‘स्वर्णिम अध्याय’ मानिन्छ, जसले आज पनि करोडौं दर्शकलाई त्यो सुन्दर खेलको सम्झना दिलाइरहन्छ ।

nullnull

पढ्नुहोस् यो पनि :

विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग

पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म

दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम

द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो

पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव

छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय

सातौं फिफा विश्वकप–१९६२ :  भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा

कुराकाओको ऐतिहासिक विश्वकप यात्रा : डच प्रभाव, औपनिवेशिक विरासत र एउटा सानो टापुको ‘ब्लू वेभ’ क्रान्ति

आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो

‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्‍यो असम्भव सपना ?

salt training

कमेन्ट गर्नुहोस्