
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शुक्रबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई एक सय २२ रनको विशाल अन्तरले हराएको छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाविरुद्ध नेपालले हासिल गरेको यो नै सबैभन्दा ठूलो रनअन्तरको जित पनि हो ।
नेपालले जारी शृंखलामा आफूले खेलको चारमध्ये तीन खेलमा जित निकाल्यो । जितसँगै नेपाली टोलीले जारी लिग–२ तालिकाको चौथो स्थानमा आसीन नेदरल्यान्ड्ससँगको अंक दूरी पनि घटाएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय १७ रन बनाएको थियो ।
ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकी टोलीले भने ४१.२ ओभरमा अलआउट हुनुअघि एक सय ९५ रनमात्र बनाउन सक्यो ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो ठूलो स्कोर पनि हो । अमेरिकाविरुद्धको एकदिवसीय खेलमा भने नेपालले बनाएको यो नै सर्वाधिक स्कोर हो ।
यो जितसँगै नेपाली टोलीले कीर्तिपुर क्रिकेट मैदानमा अमेरिकाविरुद्धको जितको शृंखलालाई पनि निरन्तरता दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाली टोली हालसम्म अमेरिकासँग पराजित भएको छैन ।
यो स्टेडियममा नेपाल र अमेरिका हालसम्म चारपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भिडेका छन् । चारवटै खेलमा नेपालले अमेरिकालाई हराएको छ ।
अमेरिकी ब्याट्सम्यानलाई दबाबमा राख्न प्रारम्भदेखि नै नेपाली टोलीका बलरले कसिलो बलिङ गरे । प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए ।
सन्दीपले १० ओभरमा एक मेडन राख्दै ३० रन खर्चिए । ललित राजवंशी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले पनि दुई–दुई विकेट हात पारे । सोमपाल कामीले एक विकेट लिए ।
अमेरिकाका लागि सञ्जय कृष्णमुर्थीले अर्धशतकीय पाली खेले । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनले ५६ रन बनाए ।
कृष्णमुर्थीले ४४ बलको सामना गरी चार छक्का र चार चौका हिर्काए । अमेरिकी टोलीका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
त्यसअघि, नेपाली टोलीका लागि इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । इशानले टोलीको खातामा ८४ रन थपे ।
आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ८३ बलमा एक छक्का र आठ चौका हिर्काए । २८ वर्षीय इशानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट बनाएको यो दोस्रो अर्धशतक हो ।
उनले जारी लिग–२ शृंखलाको स्कटल्यान्डविरुद्धको खेलमा पनि ५५ रन बनाएका थिए । इशानले यही लिग–२ शृंखलामार्फत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका हुन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको केवल तेस्रो खेल हो । इशानले तेस्रो विकेटका लागि कप्तान रोहित कुमार पौडेलसँग एक सय १० रनको साझेदारी पनि गरे ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रसिंह ऐरीले पनि उत्कृष्ट अर्धशतकीय पाली खेले । २६ वर्षीय अनुभवी ब्याट्सम्यान दीपेन्द्रले ५९ रन बनाए ।
प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका दीपेन्द्रले केवल ३६ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काए ।
दीपेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो नवौँ अर्धशतक हो । यो ढाँचाको क्रिकेटमा उनले दुईवटा शतक पनि बनाएका छन् ।
दीपेन्द्रले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको भने यो २१औँ अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि १२ वटा अर्धशतक बनाएका छन् ।
कप्तान रोहित केवल चार रनका कारण अर्धशतक पूरा गर्नबाट चुके । २३ वर्षीय कप्तान रोहित ४६ रन बनाउँदै आउट भए । उनले ५९ बलमा एक छक्का र दुई चौका हिर्काए ।
ओपनर ब्याट्सम्यान आसिफ शेख पनि सात रनका कारण अर्धशतक प्रहार गर्नबाट चुके । २४ वर्षीय विकेटकिपर ब्याट्सम्यान आसिफले ५७ बलमा ६ चौका पनि हिर्काए ।
अर्का ओपनर कुशल भुर्तेलले पनि टोलीको खातमा २९ रन थपे । उनले ३९ बलमा पाँच चौका पनि प्रहार गरे । गुलसन झाले १२ बलमा एक छक्काको मद्दतले १५ रन जोडे ।
आरिफ शेखले पनि केवल १० बलमा दुई छक्काको अविजित १८ रन बटुले । सोमपाल कामीले पाँच रन जोडे । नन्दन यादव एक रन बनाउँदै आउट भए । अमेरिकी टोलीका बलर शुभम रञ्जनेले तीन विकेट लिए ।
लिग–२ तालिकामा २८ खेल खेलेको अमेरिका ३८ अंकसहित पहिलो स्थानमा छ । ३२ खेलबाट ३८ अंक जोडेको स्कटल्यान्ड दोस्रो र २८ खेलबाट ३१ अंक बटुलेको ओमान तेस्रो स्थानमा छन् ।
यसैगरी, २४ खेलबाट २८ अंक बटुलेको नेदरल्यान्ड्स चौथो र २८ खेलबाट २४ अंक हात पारेको नेपाल पाँचौँ स्थानमा आसिन छन् ।
यसैगरी, २८ खेलबाट २२ अंक बटुलेको नामिबिया छैटौँ, २४ खेलबाट २१ अंक हात पारेको क्यानडा सातौँ र २४ खेलबाट १४ अंक कमाएको यूएई आठौँ स्थानमा छन् ।
आठ राष्ट्र सहभागी लिग–२ प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा रहेको छ ।
लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।
लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ ।
यसका अतिरिक्त, आईसीसीबाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्तयता जोगाउन पनि यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहन्छ ।
छनोट चरण पार गर्दै तेस्रोपटक टी–२० विश्वकप खेलेको नेपालले हालसम्म एकदिवसीय विश्वकप खेल्ने अवसर भने पाएको छैन ।