
तिमी रोइरहेकी छौँ
सपना चुँडाएर
म विचलित छु
विपना गुमाएर ।
तिम्रो बाटो अवरुद्ध होला
गन्तव्य पुग्नलाई
अनिश्चयका बादल मडारिएर
तिम्रो भविष्य संकुचित भएको होला
जित्नु पर्ने युद्ध
तिमीले नजितेर हार्याँै होला
जित हार नै जिन्दगी रहेछ
हारिएकोमा अलाप विलाप नगर
एक कदम पछाडि सरिएको मात्रै हो
अब एक कदम अगाडि बढ
जितिन्छ युद्ध
क्रुरताका पर्खाल लडाएर ।
दास मनोवृत्तिबाट परिचालित मान्छे
तिमीलाई दासीजस्तो व्यवहार गर्न खोज्छ
तिमीले परिवर्तनको कुरा गर्दा
ऊ प्रतिगमनको कुरा गर्छ
उसलाई सनातनी भूतले गाँजेको छ
नारीको जीवनलाई खेलौना ठान्दै
पुरुषत्वको आवरण ओढेर
तिमीलाई दमन गर्छ
घमण्डले छाती फुलाउँछ
आफ्नै आमाको सपना कुल्चेर
आमामाथि शासन गर्छ
स्नेहत्वको अपमान गर्दै
दानवता प्रकट गरी
आमाको रगत चुस्छ ।
म मूकदर्शक बनिरहेको छु
मलाई औडाह हुनु पर्ने
तिम्रो बाटोमा लगाएका तगराहरू
मैले भाँच्नु पर्थ्यो
तिम्रा पाइलाहरूमा
मेरो पाइला खेप्नु पर्थ्यो
तिम्रो शिरमा राखिएको जाँतो
मैले फाल्नु पर्थ्यो
तिमीलाई बाँधिएको जाञ्जिर
मैले चुँडाल्नु पर्थ्यो ।
आमामाथि गरिएको शासन
मलाई मान्य छैन
म शान्त बसें भन्दैमा
घाम जून निभेको हँुदैन
मैले तिर्नु छ आमाको ऋण
हसाउँनु छ मुहार
आमा हाँसे संसार हाँस्छ
आमाको खुसी नै मेरो खुशी ठान्छु
आमा स्निग्ध छिन्
हिमालजस्तो अटल
मलाई बाँच्न सिकाउने
आफू मृत्यु शैयामा जले पनि ।
सुन्दरहरैंचा –०६, दुलारी, मोरङ
९८४२०७३५२५
पउअजबलमचबद्दण्द्दघ२नmबष्।िअयm