
नेपाल औषधि आयातकर्ता संघले अत्यावश्यक औषधिहरूको मूल्य समायोजन प्रक्रिया तत्काल अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ ।
संघ शुक्रबार एक विज्ञप्ति जारी गर्दै राजपत्रमा प्रकाशित अत्यावश्यक औषधिहरूको मूल्य समायोजन प्रक्रिया तत्काल अगाडि बढाउन आग्रह गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय मूल्यवृद्धि हुँदा समेत मूल्य समायोजन नहुँदा उत्पादक कम्पनीहरूले नेपाल सरकारले तोकेको पुरानो मूल्यमा औषधि आपूर्ति गर्न असमर्थ भएका संघले जनाएको छ । जसले आयात प्रक्रियामा प्रत्यक्ष असर पारेको जारी विज्ञप्तिमा उल्लेख छ ।
'दीर्घकालीन समाधानका लागि नेपाल सरकारले औषधिको मूल्यमा समयानुकूल समायोजन नगरेसम्म आयातकर्ताहरूलाई निरन्तर आयात गर्न व्यावसायिक रूपमा सम्भव नहुने स्पष्ट गर्न चाहन्छौं,' विज्ञप्तिमा भनिएको छ, 'राजपत्रमा प्रकाशित अन्य अत्यावश्यक औषधिहरूको मूल्य समायोजन प्रक्रिया पनि तत्काल अगाडि बढाउन नेपाल सरकारसमक्ष संघको विनम्र अनुरोध छ।'

