
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पद छाड्नुपर्ने दबाब बढेको छ । सचिवालयका बहुसङ्ख्यक नेताहरू उनले मार्ग प्रशस्त गर्नुपर्ने निचोडमा पुगेका छन् ।
जारी सचिवालय बैठक अन्तर्गत शनिबारसम्म बोल्ने नेताहरूमध्ये अधिकांशले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । पार्टीभित्र पार्टी पुनर्गठनको आवाज बलियोसँग उठेको भन्दै नेताहरूले अब अहिलेकै नेतृत्वबाट पार्टी र आन्दोलन अघि बढ्न नसक्ने बताएका छन् ।
शनिबारको बैठकमा धारणा राखेका महासचिव शंकर पोखरेल पनि उपाध्यक्षहरूकै लाइनमा उभिए । महासचिव पोखरेलले अहिलेकै अवस्थामा पार्टीको आन्दोलन र पार्टी अघि बढ्न नसक्ने बताए ।
उनले राजीनामा भन्ने शब्द प्रयोग नगरे पनि अहिलेकै नेतृत्वमा आन्दोलन अघि बढ्न नसक्ने कुरा प्रस्टसँग राखेको बैठकमा सहभागी एक नेताले बताए ।
‘महासचिवले पनि हिजो उपाध्यक्षहरूले बोलेकै लाइनमा बोल्नुभयो । उहाँले राजीनामा भन्ने शब्द त प्रयोग गर्नुभएन तर अब अहिलेकै नेतृत्वबाट पार्टी र आन्दोलन अघि बढ्न नसक्ने कुरा राख्नुभयो’, एमालेका ती पदाधिकारीले लोकान्तरसँग भने ।
बैठकमा महासचिव पोखरेलले पार्टीभित्र गम्भीर समस्या रहेको बताए । उनले कार्यकर्तामा निराशा बढिरहेको र त्यो निराशा यत्तिकै आशामा नबदलिने बताएका थिए ।
‘अब पार्टी पुनर्गठन गरेर जानुपर्छ । अहिलेकै अवस्थाले हुँदैन । पार्टीभित्र गम्भीर समस्या छ । पुनर्गठनको आवाज बलियो बनिरहेको छ । कार्यकर्तामा रहेको निराशा यत्तिकै आशामा बदलिँदैन’, महासचिव पोखरेलको भनाइ उदृत गर्दै एक पदाधिकारीले लोकान्तरसँग भने ।
शुक्रबार पनि उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्टलगायतले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए ।
नेतृत्व छाड्न प्रस्ताव गरेपछि ओली शुक्रबार नेताहरूसँग फायर भएका थिए । उनले धम्कीको भाषा बोलेको भन्दै उपाध्यक्ष गुरुङले आपत्ति जनाएका थिए ।
बैठक स्रोतका अनुसार शुरूमै पौडेलले अहिलेसम्म गरेको योगदानको कदर गर्ने भन्दै अब ओलीले नेतृत्व छाड्नुपर्ने बताएका थिए । त्यसपछि बोलेका विष्टले पनि समयको मागअनुसार ओलीले नेतृत्व छाड्नुपर्ने बताए ।
उपाध्यक्ष गुरुङले अहिलेको नेतृत्वका कारण चुनावमा एमालेले अनपेक्षित प्रहार बेहोरेको बताएका थिए । उनले कार्यकर्ताको माग अनुसार ओलीले नेतृत्व छाडेर पार्टी पुनर्गठन गर्नुपर्ने बताएका थिए ।
नेताहरूले बोल्दै गर्दा ओलीले पटकपटक प्रतिवाद गरेका थिए । ओलीबाट धम्कीको भाषा आएको भन्दै गुरुङले आपत्ति जनाएका थिए ।
‘के एमाले पार्टी तपाईंको प्राइभेट कम्पनी हो ? कम्युनिस्ट पार्टी तपाईंको निरंकुश शैलीले चल्छ ?’ गुरुङले प्रतिवाद गर्दै भनेका थिए ।
उसो त ओलीले शनिबारको बैठकमा पनि नेताहरूको आवाजलाई बेवास्ता गरे । बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र सहमति भए पनि, नभए पनि आफूले नछाड्ने चेतावनी दिए ।
‘तपाईंहरूले मलाई सम्झाउनुपर्दैन । सहमति भए पनि, नभए पनि म छाड्दिनँ । के गर्नुहुन्छ ?’, बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।
अहिलेसम्म बोलेका पदाधिकारीमध्ये उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत मात्र ओलीको बचाउमा उत्रिएका हुन् । उनीहरूले संकटको बेला नेतृत्वको रक्षा गरेर जानुपर्ने धारणा राखेका छन् ।
शनिबारको बैठकमा सचिव बस्नेतले धारणा राख्दै ओलीको राजीनामा माग्ने नेताहरूलाई अपराधीको संज्ञा समेत दिए ।
‘संकटको बेला नेतृत्वलाई संरक्षण गरेर अघि बढ्नुपर्छ । यस्तो बेला नेतृत्वको राजीनामा माग्नेहरू अपराधी हुन्’, महेशले बैठकमा भनेका थिए ।
यस्तै, शनिबार उपमहासचिव लेखराज भट्टले ६० वर्षभन्दा माथिका सबै नेताले जिम्मेवारी त्यागेर नयाँ पुस्तालाई पार्टीको नेतृत्व सुम्पिनुपर्ने प्रस्ताव राखे ।
बैठक स्रोतका अनुसार अर्का उपमहासचिव योगेश भट्टराईले भने ओलीले बिनाशर्त मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे । ‘तपाईंले कम्युनिस्ट आन्दोलनमा गर्न सक्ने योगदान गरिसक्नुभयो । अब तपाईंबाट चल्दैन । तपाईंकै पालामा पार्टी इतिहासकै सबैभन्दा कमजोर भयो, अब तपाईंले छोड्नुपर्छ’, योगेशले भनेका थिए ।
यस्तै, उपमहासचिव रघुविर महासेठले पनि पार्टीमा गम्भीर समीक्षा गरेर पार्टी पुनर्गठन गर्नुपर्ने बताए । उनले यथास्थितिमा पार्टी चल्न नसक्ने समेत बताएका ती पदाधिकारीले बताए ।
एमाले उपमहासचिव लेखराज भट्टले नेताहरूले कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने धारणा राखेको बैठकपछि सञ्चारकर्मीहरूलाई जानाकरी दिए ।
कमीकमजोरीहरू कहाँ कहाँ छन्, त्यसको समीक्षा गरेर जहाँ जहाँ सच्याउनुपर्ने हो र ज-जसका कमजोरी छन् ती हटाएर पार्टीलाई एकमना, एकता एकताबद्ध बनाउनुपर्ने धारणा नेताहरूले राखेको उनले बताए ।
उनका अनुसार नेताहरूले अहिले नेपालमा जे संकट आइलागेको छ त्यो संकटका विरुद्ध पार्टीले एकताबद्ध भएर अघि बढ्नुपर्ने र तलैसम्मका कार्यकर्तामा देखिएको उदासीनतालाई ऊर्जामा बदल्नुपर्ने धारणा राखेका छन् ।
बैठकामा अब अध्यक्ष ओली र ४ जना सचिवले आफ्ना धारणा राख्न बाँकी छ । बैठक भोलि आइतबार पनि जारी रहने उपमहासचिव भट्टले बताए । उनका अनुसार बैठक आइतबार बिहान ११ बजेबाट शुरू हुनेछ ।
आइतबार कार्यविभाजन लगायतका विभिन्न निर्णय हुने र अध्यक्ष ओलीले आफ्नो निर्देशनात्मक भनाइ राखेपछि बैठक समापन हुने उपमहासचिव भट्टले बताए ।