
एबिलिटी डेभलपमेन्ट सोसाइटी अफ नेपाल (एडसन) को आयोजनामा शनिबार गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा सम्पन्न १० औं एडसन च्यारिटी गल्फ प्रतियोगिताको उपाधि गोविन्द बोहराले जितेका छन्।
१८ ह्यान्डीक्यापमा खेलेका बोहराले सानदार प्रदर्शन गर्दै ४३ स्टेबलफोर्ड अंक जोडेर मुख्य उपाधि आफ्नो पोल्टामा पारेका हुन्। उनले उपविजेता बनेका इन्द्रधारा विष्टलाई दुई अंकले पछि पारे।
विष्ट र नवाङ पासाङ शेर्पा दुवैले समान ४१ अंक जोडे पनि 'काउन्ट ब्याक'का आधारमा विष्ट उपविजेता घोषित भए। विष्टले ब्याक नाइनमा २१ अंक जोडेका थिए भने शेर्पाले १७ अंक मात्र बनाएका थिए। मुख्य विजेता बोहरालाई सिंगापुर एयरलाइन्सको तर्फबाट काठमाडौँ–सिंगापुर–काठमाडौँको हवाई टिकट पुरस्कार स्वरूप प्रदान गरियो।
प्रतियोगितामा तेन्जिङ छिरिङले ३८ ग्रस अंकका साथ 'बेस्ट ग्रस'को अवार्ड जिते भने उनैले 'लंगेस्ट ड्राइभ'को पुरस्कार पनि हात पारे। महिलातर्फको प्रतिस्पर्धामा विपना श्रेष्ठ ३६ अंकका साथ च्याम्पियन बनिन्।
उनकी निकटतम प्रतिद्वन्द्वी आस्था दुलालले ३४ अंक जोड्दै दोस्रो स्थान हासिल गरिन्। यद्यपि, आस्थाका लागि दिन सुखद रह्यो, किनकि उनले लक्की ड्रमार्फत सिंगापुर एयरलाइन्सकै तर्फबाट काठमाडौँ–सिंगापुर–काठमाडौँको हवाई टिकट प्राप्त गरिन्।
त्यसैगरी, सिनियरतर्फ (६० वर्षभन्दा माथि) सञ्जीव क्षेत्री ३८ अंकका साथ विजयी भए भने ७० वर्षभन्दा माथिको सुपर सिनियर विधामा डा. फौदा राज थेबेले २९ अंक जोड्दै उपाधि जिते। अन्य विधातर्फ प्रदिप केसीले 'क्लोजेस्ट टु द पिन' र अन्जिला योञ्जनले 'स्ट्रेटेस्ट ड्राइभ'को पुरस्कार पाए। चारवटा बर्डिज प्रहार गरेका रविन्द्र तिवारीले काउन्ट ब्याककै आधारमा 'मस्ट बर्डिज'को अवार्ड हात पारे।
कुल ७१ गल्फर्स सहभागी रहेको यो प्रतियोगिता १८ होलको स्टेबलफोर्ड फम्र्याटमा खेलाइएको थियो। कार्यक्रमलाई सिंगापुर एयरलाइन्सले मुख्य प्रायोजन गरेको थियो भने सूर्य नेपाल, यती डिस्टिलरी, गोर्खा ब्रुअरी, नेपाल टेलिकम, हिमालयन बैंक लगायत दर्जनौँ संघसंस्थाहरूले सहयोग गरेका थिए।
विजयी खेलाडीहरूलाई एडसनका अध्यक्ष रबेन्द्रराज पाण्डे, फन्ड रेजिङ तथा जनसम्पर्क प्रबन्धक निर्मला ज्ञवाली, नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष एवं गोकर्ण गल्फ क्लबका कार्यकारी सदस्य पवित्र कुमार कार्की र एडसनका सचिव ज्ञानप्रसाद खनाल लगायतले पुरस्कार वितरण गरेका थिए।