
काठमाडौँ । नेकपा (एमाले) का नेता उमाशंकर अरगरियाले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले आज आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
पार्टी प्रवेश गरेको लामो समय बितिसक्दा पनि आफूसँगै आएका साथीहरूको उचित समायोजन हुन नसकेको र उनीहरू कमिटी विहीन बनेको भन्दै उनले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन् ।
अरगरियाले पार्टीभित्र आधिकारिक उम्मेदवारलाई हराउनेहरूलाई दण्डित गर्नुको सट्टा पुरस्कृत गर्ने गलत परम्परा बसेको आरोप लगाएका छन् ।
उनले राजीनामा पत्रमा जिल्ला नेतृत्वबाट पटक–पटक अपमानित हुनुपरेको, इमानदार कार्यकर्ता अपहेलित भएको र पार्टी विरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आफू आजित भएको उल्लेख गरेका छन् ।
केन्द्रमा यसबारे पटक–पटक जानकारी गराउँदा समेत कुनै पहल नभएपछि बाध्य भएर पार्टी छाड्नु परेको उनले बताएका छन् । केही वर्षअघि उनी तत्कालीन लोसपा छाडेर एमालेमा लागेका थिए ।