०७ साउन २०८३, बिहीबार

कांग्रेसभित्र एकताका लागि शेखरले अघि सारे पाँचबुँदे प्रस्ताव

जेठ ११, २०८३
काठमाडौं
कांग्रेसभित्र एकताका लागि शेखरले अघि सारे पाँचबुँदे प्रस्ताव

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र एकता कायम गर्दै १५ औं महाधिवेशनलाई सहमतिमार्फत अघि बढाउन भन्दै पाँचबुँदे प्रस्ताव अघि सारेका छन् ।

कोइरालाले क्रियाशील सदस्यता, केन्द्रीय कार्यसमिति समायोजनदेखि विभिन्न समितिको गठनसम्मका विषयमा साझा समझदारी कायम गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

उनले १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्नुपर्ने प्रस्ताव गरेका छन् । साथै, १४ औं महाधिवेशनपछि नवीकरण र वितरण भएका क्रियाशील सदस्यताकै आधारमा १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको धारणा छ ।

कोइरालाले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै संरचना बनाउनुपर्ने प्रस्ताव पनि अघि सारेका छन् ।

त्यस्तै, उनले कार्यसम्पादन समितिमा सभापतिको बहुमत सुनिश्चित हुनेगरी गठन गर्नुपर्ने उल्लेख गरेका छन् ।

निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति तथा अन्य महत्वपूर्ण समितिहरू आपसी सहमतिका आधारमा मात्रै गठन गर्नुपर्ने प्रस्ताव पनि कोइरालाले अघि सारेका छन् ।

यस्ता छन् कोइरालाका प्रस्ताव : 

१. १५ औं महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य (mandatory) नगर्ने ।

२. १४ औं महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५ औं महाधिवेशन गर्ने ।

३. १४ औं महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने ।

४. कार्यसम्पादनमा सभापतिको बहुमत हुनेगरी गठन गर्ने ।

५. निर्वाचन समिति, क्रियाशील छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरू आपसी सहमतिबाट मात्रै बनाउने ।
 

कमेन्ट गर्नुहोस्