
नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसममा व्यापक फेरबदल आएको छ । गएरातिदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरैजसो ठाउँका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्षा हुनुपूर्व हिजो नेपालगञ्ज, धनगढी र दिपायलसहितका क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्दा जनजीवन निकै प्रभावित बनेको थियो । तर, गएरातिको वर्षाले केही राहत मिलेको छ । मौसमविद्हरूका अनुसार, आज दिउँसोसम्म केही समय पानी रोकिए पनि पुनः अपराह्नबाट रातिसम्म वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू-भागका केही स्थान, मधेश र अन्य प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
साथै, मधेश, कोशी, बागमती र गण्डकीका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
तथापि, सुदूरपश्चिम र लुम्बिनीका तराईका भू-भागमा भने अझै तातो दिन (हिटवेभ)को सम्भावना कायमै रहेको विभागले जनाएको छ।
राति भने कोशी र मधेशका केही स्थान तथा बागमती र गण्डकीका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बादल लागे पनि तराईका भू-भाग भने मुख्यतया सफा रहनेछन्।
मौसमविद् विनोद पोखरेलका अनुसार यो हप्ताभरि नै मौसम यस्तै रहने र शुक्रबार विशेषगरी पश्चिम नेपालको तराईमा थप वर्षा हुने सम्भावना छ। अर्को हप्ता भने वर्षा हुने ठाउँ र मात्रा दुवै कम हुँदै जाने उनले बताए। सामाजिक सञ्जालमार्फत उनले रोपाइँ गर्ने किसानहरूका लागि यो हप्ता निकै राम्रो रहेको उल्लेख गरेका छन्।