
बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा गएराति आएको भीषण हावाहुरी, असिनापानीसहितको वर्षाले ठूलो क्षति पुर्याएको छ। प्राकृतिक विपत्तिका कारण गाउँका दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको स्थानीयले बताएका छन्।
विशेषगरी दाँगमा आएको तीव्र हावाहुरीले घरका छाना उडाउने, भित्तामा चिरा पार्ने तथा विद्युत अवरुद्ध गराउनेजस्ता समस्या निम्त्याएको हो । रातिको समयमा आएको विपत्तिले स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
स्थानीयका अनुसार डेमबहादुर घिमिरे, डुकुराज घिमिरे, चेमकली घिमिरे, मनिषा घिमिरे, तारापति घिमिरे, भीमबहादुर रास्कोटी, कल्पना घिमिरे, देविचन रास्कोटी, अमृत जिसी, सागर जिसी, अमरबहादुर पाईजालगायतका घरमा बढी क्षति पुगेको छ।
धेरै घरका जस्तापाता उडेको, गोठ तथा भण्डारण कक्षमा क्षति पुगेको र खाद्यान्न समेत भिजेर नष्ट भएको बताइएको छ।

प्राकृतिक विपत्तिपछि गाउँमा विद्युत सेवासमेत अवरुद्ध बनेको छ भने कतिपय परिवार सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन्। यद्यपि, हालसम्म कुनै मानवीय क्षति भने नभएको स्थानीयवासीले बताएका छन्।
एकातिर घर तथा भौतिक संरचनामा क्षति पुगेको छ भने अर्कोतर्फ किसानले लगाएको मकैबाली असिनाले पूर्णरूपमा नष्ट गरेको छ। केही दिनअघिसम्म हरियाली देखिएको बारी अहिले उराठ दृश्यले किसान चिन्तित बनेका छन्। वर्षदिनको आशा बोकेको मकैबाली एकै रातमा नष्ट भएपछि स्थानीय किसान चिन्तित बनेका छन् ।

स्थानीय कृषकका अनुसार यस वर्ष राम्रो उत्पादन हुने अपेक्षा गरिएको मकैबाली असिनाले सखाप पारेपछि खाद्यान्न संकटको चिन्ता समेत बढेको छ। 'घर पनि बिग्रियो, बाली पनि सखाप भयो, अब कसरी वर्ष कटाउने भन्ने चिन्ता थपिएको छ,' एक पीडित किसानले दुखेसो पोखेका छन्।

बडिगाड गाउँपालिका-५, का वडा अध्यक्ष सहितको प्रहरी टोलिले क्षतिको विवरण संकलन शुरू गरेको जनाइएको छ। प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न स्थानीयले माग गरेका छन्।