
नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले अधिकार प्रयोग गर्न सभामुखलाई कसले रोक्यो भनेर प्रश्न उठाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री, मन्त्री र सांसदमाथि रुलिङ गर्ने अधिकार सभामुखलाई भए पनि प्रधानमन्त्री वालेन्द्र शाहलाई सदनमा बोलाउने विषयमा किन रुलिङ नभएको भनेर प्रश्न उठाए ।
विपक्षी सांसदले पटक-पटक रुलिङको माग गर्दा पनि सभामुख डोलप्रसाद अर्यालले यसतर्फ चासो नदिएको भन्दै उनले असन्तुष्टि जनाए ।
‘तपाईंलाई रुलिङ गर्ने अधिकार छ, प्रधानमन्त्रीमाथि । कुनै पनि मन्त्री, प्रधानमन्त्री र सांसदमाथि रुलिङ गर्ने अधिकार छ । त्यो अधिकार प्रयोग गर्न कसले रोकेको छ सभामुख महोदय ?’, शाहले भने, ‘यो सदन जान्न चाहन्छ, तपाईंलाई रुलिङको अधिकार प्रयोग गर्न कसले रोक्यो ? कसले छेकेको छ ? तपाईं कार्यपालिका प्रमुख प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी बनाउन सक्नुहुन्न र ?’
यो विषयमा पुरै नेपालले जवाफ चाहेको सांसद शाहको भनाइ छ ।
तर, सभामुख अर्यालले भने रुलिङ गरेनन् । उनले प्रधानमन्त्रीले छिट्टै संसद्मा आउने तयारी गरिरहेको जानकारी दिए । प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने विषय आफूले पटक-पटक जानकारी गराएको, प्रधानमन्त्रीसँग निरन्तर छलफलमा रहेको सभामुख अर्यालले बताए ।