२९ जेठ २०८३, शुक्रबार
मौसम पूर्वानुमान

कतै हावाहुरी र वर्षा, कतै प्रचण्ड गर्मी : मौसमविद् भन्छन्– 'पश्चिम नेपाल अझै सुक्खा रहने'

जेठ १३, २०८३
काठमाडौं
कतै हावाहुरी र वर्षा, कतै प्रचण्ड गर्मी : मौसमविद् भन्छन्– 'पश्चिम नेपाल अझै सुक्खा रहने'

हाल नेपालको मौसम प्रणालीमा विभिन्न वायुको प्रभाव देखिएको छ। पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण मौसममा फेरबदल भइरहेको हो ।

यसैको प्रभावले मङ्गलबार राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा हावाहुरीका साथ वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको र आगामी केही दिनको मौसम पूर्वानुमान अद्यावधिक गरेको छ।

महाशाखाका अनुसार आज (बुधबार) दिउँसो तराई भू-भागमा मुख्यतया मौसम सफा रहनेछ भने पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकीका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।  तराई क्षेत्रमा अपराह्नपछि हुरीको सम्भावना छ । लुम्बिनीका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना छ । तराई भू-भागमा अत्यधिक गर्मी (तातो दिन) हुनेछ ।

कर्णाली र सुदूरपश्चिमहिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना छ । सुदूरपश्चिमको तराईमा अत्यधिक गर्मी हुने छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार यो साताभरि देशका धेरैजसो स्थानमा राम्रो वर्षा हुने देखिएको छ । तर, यो वर्षाको क्रम लामो समय भने टिक्ने छैन । 'यो हप्ताभरि राम्रो वर्षा हुने देखिन्छ। तर, अर्को हप्ता ४-५ दिन थोरै ठाउँमा हल्का वर्षा मात्र हुनेछ। त्यसपछि पनि पूर्वी नेपालमा वर्षा हुने देखिए पनि पश्चिम नेपाल भने सुक्खा रहने सम्भावना छ,' मौसमविद् पोखरेलले भनेका छन् । 

कमेन्ट गर्नुहोस्