२५ जेठ २०८३, सोमबार
बौद्ध विश्वविद्यालयको छलाङ

शून्यबाट उठेर एक दशकमै अन्तर्राष्ट्रिय उचाइमा लुम्बिनी बौद्ध विश्वविद्यालय

डा. तिलकराम आचार्यको नेतृत्वमा उल्लेख्य फट्को
जेठ १३, २०८३
काठमाडौं
शून्यबाट उठेर एक दशकमै अन्तर्राष्ट्रिय उचाइमा लुम्बिनी बौद्ध विश्वविद्यालय
तस्वीरमा लुम्बिनी बौद्ध विश्वविद्यालय र डा. तिलकराम आचार्य

बुद्ध जन्मस्थल शान्तिभूमि लुम्बिनीमा स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले पछिल्लो दुई दशकमा उल्लेखनीय फट्को मारेको छ ।

शुरूआतमा सामान्य प्रशासनिक संरचनामा मात्र सीमित रहेको विश्वविद्यालय अहिले अनुसन्धानमुखी अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका रूपमा परिचित बन्न सफल भएको छ ।

विश्वविद्यालयले उच्च शिक्षासँगै बौद्ध दर्शन, कूटनीति र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई विस्तार गर्दै आफूलाई बहुआयामिक ज्ञान केन्द्रका रूपमा स्थापित गरेको छ । विश्वका विभिन्न देशका शैक्षिक संस्थासँग सहकार्य बढाउँदै यसले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति बलियो बनाएको जानकारहरू बताउँछन् ।

विशेषगरी पूर्व रजिस्ट्रार डा.तिलकराम आचार्यको नेतृत्वकाललाई विश्वविद्यालयको रूपान्तरणको महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ ।

लामो समयसम्म निरन्तर एउटै नेतृत्व रहँदा विश्वविद्यालयले स्थायित्व पाएको र विकासका योजनाले गति लिएको सरोकारवालाहरूको भनाइ छ ।

डा.आचार्यले गुमनाम जस्तै अवस्थामा रहेको विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । तर, सरकारले हालै ल्याएको अध्यादेशका कारण उनको पदावधि निर्धारित समयभन्दा दुई वर्षअघि नै समाप्त भएको छ । यसबाट विश्वविद्यालयको आगामी दिशा र नेतृत्वसँग जोडेर चासोका साथ हेरिएको छ ।

null

प्रा. डा. गीतु गिरीले विश्वविद्यालयमा आउने पदाधिकारी लुम्बिनी र विश्वविद्यालयलाई बुझेको हुनुपर्ने बताउँछन् ।

‘विश्वविद्यालयका ‘रनिङ’ परियोजना व्यवस्थित रूपमा सञ्चालन गर्ने नेतृत्व चाहिन्छ,’ डा. गिरी भन्छन्, ‘लुम्बिनी ‘वर्ल्ड हेरिटेज’ क्षेत्र पनि हो । यसको महत्त्व बुझेको नेतृत्व आवश्यक छ ।’

विश्वविद्यालयले आफैं सस्टेन हुने गरी बुद्धिजमलाई फोकस गर्दै समय सापेक्ष अन्य प्रोफेसनल विषयहरू अध्यापन गराउँदै आएको छ । यसको निरन्तरता हुनुपर्छ,’ डा.गिरीले थपे ।

आचार्य रजिस्ट्रार रहेका बेला केही महत्त्वपूर्ण योजनाहरू कार्यान्वयनको चरणमा पुगेका छन् । ‘विश्वविद्यालय विकासका लागि आएका पदाधिकारीले अब ती योजना अघि बढाउनुपर्छ, एकेडेमिक सेक्टरमा धेरै महत्त्वपूर्ण योजना र कार्यक्रम पूर्ण होऊन् भन्ने मेरो चाहना हो,’ आचार्य भन्छन् ।

अहिले निमित्त रजिस्ट्रारको रूपमा इन्द्रप्रसाद काफ्ले आएका छन् ।

वि.स.२०७२ मा पहिलोपटक विश्वविद्यालयको रजिस्ट्रार नियुक्त भएका आचार्यले संस्थालाई प्रशासनिक अस्थिरता, सीमित पूर्वाधार र कमजोर सार्वजनिक पहिचानबाट बाहिर निकालेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउन नेतृत्वदायी भूमिका खेलेको विश्वविद्यालय सम्बद्ध व्यक्तिहरू बताउँछन् ।

लुम्बिनी वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले नेपालमा काम र उसको पर्फर्मेन्स भन्दा कुन पार्टीको हो भन्ने संस्कार विकास हुँदा समस्या हरेक क्षेत्रमा देखिएको बताए । ‘बुद्धिष्ट युनिभर्सिटीलाई शून्यबाट अहिले अन्य विश्वविद्यालयसँग दाज्ने अवस्थामा पुर्‍याउने तिलक सर हुनुहुन्छ,’ बिडारी भन्छन्, ‘अर्बौं अर्बका प्रोजेक्ट भित्रिएका छन् । उहाँकै पहलमा भएको हो । उहाँको क्षमता र काम हेर्दा भीसी हुने व्यक्ति हो ।’

डा. आचार्यले लगातार तीनपटक रजिस्ट्रारमा नियुक्त भई १० वर्ष रजिस्ट्रार पदमा रही काम गरेका हुन् । लुम्बिनीका स्थानीय, भिक्षु संघदेखि अन्तर्राष्ट्रिय बौद्ध अध्येतासम्मले आचार्यको योगदानलाई विश्वविद्यालयको संस्थागत विकाससँग जोडेर हेर्ने गरेका छन् ।

उनले निमित्त उपकुलपति भएको अवस्थामा भोट बौद्ध अध्ययन शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएका हुन् । वि.सं.२०६१ सालमा स्थापना भएको विश्वविद्यालयले २०६७ सालदेखि शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

null

ऐनमा विश्वविद्यालयको केन्द्रीय कार्यालय लुम्बिनीमा भए पनि सम्पूर्ण प्रशासनिक काम काठमाडौंस्थित सम्पर्क कार्यालयबाट सञ्चालन हुन्थे ।

त्यतिबेला विश्वविद्यालयमा सीमित शैक्षिक कार्यक्रम मात्रै थिए । केही स्नातकोत्तर तह र विद्यावारिधि कार्यक्रम सञ्चालनमा थिए । स्थायी जनशक्ति अभाव, संरचनागत कमजोरी र प्रशासनिक अस्थिरताले विश्वविद्यालयलाई प्रभावकारी रूपमा अघि बढ्न कठिन भइरहेको थियो । २०७० सालदेखि लुम्बिनीमै स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन हुन थालेपछि विश्वविद्यालयले वास्तविक शैक्षिक स्वरूप लिन थाल्यो । त्यतिबेला आचार्य केन्द्रीय क्याम्पसको सहायक क्याम्पस प्रमुख थिए । पहिलो भर्नामा उनले विद्यार्थी मात्रै जुटाएनन्, शिक्षकहरूलाई आफ्नै गाडीमा राखेर लुम्बिनी पुर्‍याउँथे ।

त्यसपछि २०७२ सालमा उनी रजिस्ट्रार नियुक्त भए । अनि काठमाडौंकेन्द्रित प्रशासन पूर्ण रूपमा लुम्बिनीमा स्थानान्तरण गरियो । यही निर्णयलाई विश्वविद्यालयको टर्निङ पोइन्टका रूपमा लिइन्छ । ‘मैले सम्पर्क कार्यालयमा हाजिरी गर्दिनँ भनेर लुम्बिनीमा कार्यालय स्थापना गरें,’ उनी भन्छन्, ‘आफैंले कुर्ची किनेर कार्यालय शुरू भएको थियो । अहिलेको विकास सबैले मूल्याङ्कन गर्न सक्नुहुन्छ ।’

२०७१ सालमा पहिलोपटक स्थायी जनशक्ति पदपूर्ति गरिएको थियो । त्यसपछि प्रशासनिक संरचना व्यवस्थित हुँदै गयो । विश्वविद्यालयका नियमावली निर्माण, ऐन संशोधनको प्रयास तथा शैक्षिक स्वायत्तता कायम गर्ने पहलले संस्थागत स्थायित्व निर्माण गर्‍यो । उनले नै आफै संयोजक भएर २०७४ सालमा विश्वविद्यालयका नियमावलीहरू बनाएर जारी गराए । अनि ऐन संशोधन गरेर विश्वविद्यालयलाई पूर्णत: सरकारी बनाउन सफल भए । त्यो अवधिसम्म जनस्तरबाट सञ्चालित विश्वविद्यालय भन्ने व्यवस्था ऐनमा थियो । आचार्यको नेतृत्वकालमा विश्वविद्यालयले अनुसन्धान केन्द्रित विश्वविद्यालयको अवधारणालाई प्राथमिकता दियो ।

बौद्ध दर्शनमा आधारित अनुसन्धान केन्द्र स्थापना गरिएको छ । पाँचवटा अन्तर्राष्ट्रिय स्तरका जर्नल प्रकाशन गरिए भने २० वटा बौद्ध ग्रन्थ अनुवाद तथा प्रकाशन गरियो । विश्वविद्यालय अहिले केबल बौद्ध अध्ययनमा सीमित छैन ।

null

२०७५ सालपछि पर्यटन, कानून, डेभलपमेन्ट स्टडिज लगायतका विषय थपिए । हाल दुई संकायमार्फत ५४ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।

एक समय गुमनामजस्तै रहेको विश्वविद्यालय अहिले विश्वका विभिन्न शैक्षिक मञ्चमा प्रतिनिधित्व गर्ने अवस्थामा पुगेको छ । चीन, श्रीलंका, जापान, कोरिया, म्यानमार, अमेरिका र भारतका विश्वविद्यालयसहित ८० भन्दा बढी अन्तर्राष्ट्रिय संस्था तथा विश्वविद्यालयसँग सहकार्य सम्बन्ध स्थापना गरिएको छ ।

विश्वविद्यालयमा कन्फ्युसियस सेन्टर, चिनियाँ भाषा परीक्षा केन्द्र तथा आईसीसीआर चियर स्थापना गरिएको छ । विदेशी कूटनीतिक नियोगहरूसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय सम्मेलन, अनुसन्धान र शैक्षिक संवाद कार्यक्रम सञ्चालन भइरहेका छन् । यसको प्रत्यक्ष प्रभाव विदेशी विद्यार्थी संख्यामा देखिएको छ । २०८३ सालसम्म विश्वविद्यालयमा १८५ जना विदेशी विद्यार्थी अध्ययनरत छन् ।

त्यो बढ्दो क्रममा रहेको छ । आउँदो वर्षसम्म ५०० भन्दा बढी विद्यार्थीलाई आवासीय सुविधासहित अध्यापन गराउन होस्टेलको व्यवस्था गर्ने काम अघि बढेको छ ।

पछिल्ला कदमले विश्वविद्यालयले लुम्बिनीलाई धार्मिक तीर्थस्थल नभई अन्तर्राष्ट्रिय बौद्ध शिक्षा केन्द्रका रूपमा स्थापित गर्ने काम गरेको छ । साढे दुई बिघा जमिनबाट शुरू भएको विश्वविद्यालय अहिले ११३ बिघा क्षेत्रफलमा फैलिएको छ । रुपन्देहीको देवदहमा मात्रै ९२ बिघा जग्गा विश्वविद्यालयका लागि प्राप्त भएको छ ।

लुम्बिनीका तीन स्थानमा प्रशासनिक भवन, पुस्तकालय र छात्रावास निर्माण भएका छन् । देवदहमा शैक्षिक भवन तथा बुटवलमा सिटी क्याम्पस स्थापना गरिएको छ ।

विश्वविद्यालयले २२ हजार विदेशी विद्यार्थीलाई अध्यापन गर्न सक्ने लक्ष्यसहित गुरुयोजना तयार गरेको छ । आवास, पुस्तकालय, अनुसन्धान केन्द्र र अन्तर्राष्ट्रिय छात्रावाससहितको पूर्वाधार विकासका लागि ३०० अर्ब रुपैयाँको प्रारम्भिक लागत अनुमान गरिएको छ । लुम्बिनी क्षेत्रमा अत्याधुनिक सभाहल सहितको संरचना निर्माण कार्य सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीका लागि होस्टेल र प्राध्यापकहरूका लागि गेस्टहाउस निर्माणको काम चलिरहेको छ ।

null

विश्वविद्यालयले प्रशासनिक र शैक्षिक क्षेत्रमा डिजिटल प्रणाली लागू गरेर पनि छुट्टै पहिचान बनाएको छ । भर्नादेखि प्रमाणपत्र प्राप्तिसम्मका सबै प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाइएको छ । विश्वविद्यालय अनुदान आयोगसँग सम्पूर्ण डेटा कनेक्सन जोडिएको छ भने, प्रशासनिक र आर्थिक प्रणाली पनि डिजिटल माध्यममा आधारित छ । रियल टाइम डेटा प्रणाली लागू गरिएको विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर पूर्ण रूपमा कार्यान्वयन हुँदै आएको छ ।

कम्प्युटर बेस्ड परीक्षा प्रणाली लागू गरिएको छ भने परीक्षा सकिएको सात दिनमै नतिजा प्रकाशन गर्ने अभ्यासले विश्वविद्यालयलाई प्रविधिमैत्री संस्थाका रूपमा स्थापित गरेको छ । परीक्षा समितिको अध्यक्ष समेत रहेका आचार्यले कम्प्युटर परीक्षा प्रणालीलाई विशेष प्राथमिकतामा राखेर कार्यान्वयन गरेका छन् । सरकारले अहिले महिना दिनभित्रै नतिजा प्रकाशन गर्ने योजना बनाएको छ । तर, लुम्बिनी बौद्ध विश्वविद्यालयले यसअघि नै परीक्षा प्रणालीमा सुधार ल्याइसकेको थियो ।

विदेशबाटै परीक्षा दिन सकिने प्रणाली विकास हुनु विश्वविद्यालयको अर्को उपलब्धिका रूपमा रहेको छ । विश्वविद्यालयले जहाँ विद्यार्थी त्यहीँ शैक्षिक कार्यक्रम र जहाँ विद्यार्थी त्यहीँ परीक्षा केन्द्र नीति लिएको छ । कोरोना महामारीका समयमा पनि होम सेन्टर स्थापना गरेर परीक्षा सञ्चालन गरिएको थियो ।

आचार्यले रजिस्ट्रार भएको समयमा पदपूर्तिका सन्दर्भमा कठोर कार्यविधि अपनाएका थिए । सक्षम र दक्ष जनशक्ति मात्रै विश्वविद्यालयमा काम गर्न छानिनुपर्ने नीतिसहित कम्प्युटरमा दक्षहरूलाई मात्रै स्थायी प्रक्रिया लैजाने परिपाटीको विकास गरिएको छ ।

कम्प्युटर सीप परीक्षणमा उत्तीर्णपछि मात्रै अन्य लिखित परीक्षाको व्यवस्था गरिएको छ । ‘हामीले दक्ष जनशक्ति मात्रै विश्वविद्यालयमा प्रवेश पाउनुपर्छ भन्ने नीति बनाएका छौं,’ उनले भने, ‘यसो गर्दा धेरै पदहरू रिक्त समेत जान पुगे ।’

null

विश्वविद्यालयले स्नातक तह उत्तीर्ण गरेपछि मात्रै प्रशासन सेवामा काम गर्न सकिने गरी शैक्षिक योग्यता तोकेको छ । लोक सेवा आयोगमा भने कक्षा १२ पास गरेका पनि सुब्बा हुन सक्ने प्रावधान छ ।

विश्वविद्यालयको विकास विद्यार्थी संख्या र बजेट वृद्धिमा पनि स्पष्ट देखिन्छ । २०६७ सालमा विश्वविद्यालयको बजेट ३ करोड ९१ लाख रुपैयाँ थियो । २०७० मा त्यो बढेर १५ करोड ११ लाख रुपैयाँ पुग्यो । २०८२ सालमा विश्वविद्यालयको बजेट ४९ करोड ४९ लाख रुपैयाँ पुगेको छ । बजेट प्राप्तिमा रजिस्ट्रारका रूपमा आचार्यको निकै मेहनत रहेको विश्वविद्यालयका अन्य शिक्षकहरू बताउँछन् ।

२०७२ सालमा करिब ३०० विद्यार्थीले अध्ययन गरेको विश्वविद्यालयमा अहिले २ हजार ५२८ विद्यार्थी अध्ययन गरिरहेका छन् । मानव संसाधनतर्फ पनि तीव्र वृद्धि भएको छ । हाल विश्वविद्यालयमा शैक्षिक तथा प्रशासनिक गरी ११३ जना जनशक्ति कार्यरत छन् ।

साथै, २ आंगिक क्याम्पस, २ स्कुल, ५ सहकार्य क्याम्पस, ८ सम्बन्धन क्याम्पस र २ लर्निङ सेन्टर सञ्चालनमा छन् । देवदहको गुरुयोजनाको पूर्णता तथा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या बढाउने योजना पूरा हुन नसकेको निवर्तमान रजिस्ट्रार आचार्य बताउँछन् । ‘महत्त्वपूर्ण कार्यहरू यो कार्यकालमा सकिने गरी काम गरिरहेका थियौं, तर बीचमै रोकिएको छ,’ उनले भने । अध्यादेशबाट विश्वविद्यालयका पदाधिकारीहरू पदमुक्त हुँदा उनले पनि पद गुमाए ।

स्थायी सह–प्राध्यापक रहेका उनी शुरू भएका योजना कार्यान्वयनमा विश्वविद्यालयमै रहेर काम गर्ने बताउँछन् । पदाधिकारी रिक्त रहेपछि विश्वविद्यालयको सम्पूर्ण कार्य ठप्प बनेको छ । सरकारले उपकुलपति छनौटका लागि दरखास्त आह्वान गरेको छ । प्रक्रिया सकिई उपकुलपति नियुक्तिमा कम्तीमा एक महिना लाग्ने बताइन्छ ।

विश्वविद्यालयका निमित्त रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेले यसअघिका पदाधिकारीले गरेका काम र योजनाहरू लोभलाग्दा रहेको बताउँदै ती योजनालाई निरन्तरता दिँदै अघि बढ्ने बताउँछन् ।

विश्वविद्यालयको नेतृत्वका लागि दीर्घकालीन दिशा निर्धारण गर्न सक्ने, शैक्षिक तथा अनुसन्धानगत दक्षता, निष्पक्ष, पारदर्शी, उत्तरदायी, शिक्षक, कर्मचारी, विद्यार्थी, सरकार र समुदायसँग प्रभावकारी सम्बन्ध कायम गर्न व्यक्ति आवश्यक देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्