२१ जेठ २०८३, बिहीबार

रूपन्देहीको देवदहमा 'उच्च शिक्षामा नवप्रबर्द्धन र स्थानीय विकास'सम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै

जेठ १३, २०८३
बुटवल
रूपन्देहीको देवदहमा 'उच्च शिक्षामा नवप्रबर्द्धन र स्थानीय विकास'सम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै

रूपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पस अन्तर्गतको अनुसन्धान व्यवस्थापन तथा प्रकाशन समितिले उच्च शिक्षामा नवप्रबर्द्धन र स्थानीय विकाससम्बन्धी राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

क्याम्पसको स्तरउन्नति र रिसर्च कल्चरको विकास गर्दै प्राध्यापकहरूको वृद्धि विकास गर्न पहिलो पटक राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलन यही जेठ १५ र १६ गते दुई दिन देवदहमा हुनेछ । क्याम्पसले बुधबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी तीव्र पारिएको जानकारी दिएको हो ।

कार्यक्रम संयोजक होमनाथ शर्माले सम्मेलनमा विभिन्न शीर्षकभित्र रहेर ४९ वटा अनुसन्धानमूलक प्रस्तुतीकरण हुने बताए ।

सँगै देशभरका विभिन्न विश्वविद्यालय अन्तर्गत आंगिक, सामुदायिक र प्राइभेट क्याम्पस एवं अनुसन्धान कार्यमा संलग्न रहेका व्यक्तिका लेखहरूको प्रस्तुतीकरण गर्ने उनको भनाइ छ । ‘उच्च शिक्षामा नवप्रबर्तनको खोज, अध्ययन, अनुसन्धान र यसले स्थानीय विकासमा प्रभाव एवं स्थानीय विकाससँग सम्बन्ध रहेको छ,’ शर्माले भने, ‘साथै कार्यक्रमले क्याम्पसमा आबद्ध प्राध्यापक र विद्यार्थीहरूलाई अनुसन्धानमूलक कार्यमा बढुवा गर्ने र वृद्धिविकासमा टेवा पुर्‍याउने लक्ष्य लिइएको छ ।’

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पूर्व उपकूलपति प्राडा केशरजङ्ग बराल र त्रिविकै व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसे पनि सहभागी हुने छन् ।

क्याम्पसका अध्यक्ष वासुदेव रिमालले कार्यक्रमबाट स्थानीय सरकार, शैक्षिक क्षेत्र, नीति निर्माण तथा अनुसन्धानबीच राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सहकार्य अभिवृद्धि हुने अपेक्षा रहेको बताए । क्याम्पसले थप समय सापेक्ष नयाँ विषयहरू पनि सञ्चालन गर्ने योजनामा रहेको उनले बताए ।

क्याम्पसका यूजीसी संयोजक नारायण भण्डारीले देवदह क्षेत्रका अनुसन्धानमूलक लेखहरू प्रस्तुतीकरण गरिने जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्