
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धान रोपाइँको मुख्य सिजनमा रासायनिक मलको अभाव हुन नदिने गरी सरकारले विशेष पहल गरिरहेको बताएकी छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले शून्य, आकस्मिक र विशेष समयमा उठाएका प्रश्नको बुधबार जवाफ दिँदै मन्त्री चौधरीले चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिकटन रासायनिक मल आपूर्ति भइसकेको जानकारी दिइन् ।
उनका अनुसार त्यसमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिकटन मल किसानलाई बिक्री भइसकेको छ भने गोदाममा मौज्दात र नेपाल भित्रिएर गोदाम इन्ट्री हुन बाँकीसहित हाल १ लाख ४४ हजार ५८५ मेट्रिकटन मल उपलब्ध छ ।
मन्त्री चौधरीले असार मसान्तसम्म करिब ६ लाख मेट्रिकटन मल किसानलाई उपलब्ध गराइने बताउँदै यसलाई अहिलेसम्मकै उच्च आपूर्ति परिमाण भएको दाबी गरिन् ।
उनले मध्यपूर्वमा बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा मल उत्पादन र आपूर्तिमा समस्या आएको तथा मूल्यसमेत उच्च दरमा बढेको उल्लेख गरिन् । यही कारण चालु र आगामी आर्थिक वर्षका लागि सम्झौता भइसकेको १ लाख ८७ हजार मेट्रिकटन मल अझै नेपाल आउन नसकेको उनले बताइन् ।
तर, धान रोपाइँ नजिकिएकाले मल अभाव हुन नदिन मन्त्रालयले आपूर्तिकर्तालाई समयमै मल ल्याउन ताकेता गरिरहेको पनि मन्त्री चौधरीले जानकारी दिइन् ।
उनले भारत सरकारसँग जीटुजी प्रणालीमार्फत थप ५० हजार मेट्रिकटन मल खरिद गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको र खरिद प्रक्रिया अघि बढाइएको जानकारीसमेत दिइन् ।
मन्त्री चौधरीका अनुसार अनुदानको मल वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका–२०८२’ कार्यान्वयनमा ल्याइएको छ ।
साथै, मलको कोटा वितरण, स्टक अवस्था र किसानले पाउने विवरणसमेत सबैले हेर्न मिल्ने गरी ‘मल व्यवस्थापन सूचना प्रणाली’ सञ्चालनमा ल्याइएको मन्त्री चौधरीले जानकारी दिइन् ।