२३ जेठ २०८३, शनिबार

एसियाड महिला क्रिकेट छनोट : चीनसँगको रोमाञ्चक खेलमा नेपालको सहज जित

जेठ १३, २०८३
काठमाडौं
एसियाड महिला क्रिकेट छनोट : चीनसँगको रोमाञ्चक खेलमा नेपालको सहज जित

आगामी एसियाली खेलकुद प्रतियोगिताको छनोटका लागि खेलिएको महिला क्रिकेटमा बुधबार नेपालले चीनलाई १९ रनले हराएको छ ।

मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको चीनको टोलीले भने निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ६ रनमात्र बनाउन सक्यो ।

नेपाली टोलीका लागि पूजा महतोले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । ओपनर ब्याटर पूजाले लामो समय टिकेर ६३ रन बनाइन् ।

उनले केवल ५७ बलको सामना गरी ६ वटा चौका पनि हिर्काइन् । अर्की ओपनर सम्झना खड्का भने चार रन बनाउँदै आउट भइन् ।

२० वर्षीया पूजाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो । उनले ५७औँ टी–२० अन्तर्राष्ट्रिय खेलिरहेकी हुन् ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएकी सोनी पाख्रिनले टोलीको खातामा १८ रन थपिन् । उनले २४ बलमा दुई चौका प्रहार गरिन् ।

कविता कुँवर पाँच रन बनाउँदै आउट भइन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी रुवी पोद्दारले २५ बलमा एक चौकाको मद्दतले अविजित २२ रन बटुलिन् ।

कप्तान इन्दु बर्मा खाता खोल्नुअघि नै पेभेलियन फर्किइन् । अनुभवी ब्याटर रुविना क्षेत्री भने चार रनमा अविजित रहिन् ।

नेपाली टोलीले अतिरिक्त रूपमा पनि नौ रन पायो । चीनकी बलर मा रुइकेले दुई तथा वाङ हुइङ र जिआपिङ लीले एक/एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको चीनका लागि कप्तान मिङयुई झुले ३० रन बनाइन् । वाङ हुइङले पनि टोलीको खातामा २१ रन थपिन् । ओपनर वेई हाइतिङले १८ रन जोडिन् ।

चीनलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलरले कसिलो बलिङ गरे । रिया शर्माले दुई विकेट लिइन् । मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले पनि एक/एक विकेट हात पारे ।

छनोट प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ‘ए’मा थाइल्यान्ड, मलेसिया र हङकङ छन् । समूह ‘बी’मा नेपाल, चीन र इन्डोनेसिया रहेका छन् ।

प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई/दुई टोली छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यो छनोट प्रतियोगिताबाट तीनवटा टोली जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा छनोट हुनेछन् ।

छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली र तेस्रो हुने टोलीले एसियाली खेलकुदमा स्थान पक्का गर्ने प्रावधान छ ।

एसियाली खेलकुदको महिला क्रिकेटमा नौ टोलीको सहभागिता रहने छ । ६ वटा टोली यसअघि नै एसियाली खेलकुदमा छनोट भइसकेका छन् ।

जापानले आयोजकका रूपमा एसियाली खेलकुद खेल्नेछ । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानले आईसीसीको पूर्णकालीन सदस्य राष्ट्रको रुपमा सहभागिता जनाउने छन् ।

आगामी एसियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्