
कोशी प्रदेशसभाको बैठक बुधबार केहीबेर तनावग्रस्त बन्यो । प्रतिपक्षी दलको चर्को अवरोध र नाराबाजीबीच सभामुखले बैठक सञ्चालन गर्न खोजेपछि पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोष्ट्रममै पुगेर माइक फाल्ने प्रयास गरेका थिए ।
मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गर्न र छलफल गर्न पर्याप्त समय (७२ घण्टा) नदिई ‘सर्वसम्मति’ले पारित गरिएको घोषणा गरेपछि प्रतिपक्षी दलहरू रुष्ट थिए । बुधबारको बैठक शुरू हुनासाथ प्रतिपक्षी सांसदहरूले सोही विषयलाई लिएर अवरोध सिर्जना गरे ।
विपक्षीको विरोध जारी रहँदा सभामुख अम्बरबहादुर विष्टले जनता समाजवादी पार्टीकी निर्मला लिम्बुलाई विशेष समयमा बोल्ने अनुमति दिएपछि सदनमा तनावको स्थिति उत्पन्न भयो । सोही क्रममा आक्रोशित बनेका पूर्वमुख्यमन्त्री राई सीटबाट उठेर सिधै रोष्ट्रममा पुगेका थिए ।
उनले रोष्ट्रममा रहेको माइक तान्ने र फाल्ने प्रयास गरेपछि मर्यादापालकहरूले उनलाई त्यहाँबाट तल झारेका थिए । केहीबेर मर्यादापालक र राईबीच रोष्ट्रममै ठेलमठेल समेत भएको थियो ।
राईले संसदीय प्रक्रिया मिचिएको र प्रतिपक्षको आवाजलाई वेवास्ता गरिएको गुनासो गरेका छन् । उनले भने ‘संशोधन हाल्ने समय नै नदिई, मुख्यमन्त्रीले टेबुल नै नगरी सिधै पास भएको घोषणा गरियो । हामीले त कम्तीमा बहुमतले पास भएको भनिदिनुस् भन्दा पनि सभामुखले मान्नुभएन । हामी प्रतिपक्ष जिउँदै छौं, विरोध गरिरहेका छौं भने कसरी सर्वसम्मति हुन्छ ?’
राईले आफूहरू संशोधनको विषयमा छलफल गरिरहेको बेला अचानक नीति तथा कार्यक्रम पास भएको घोषणा गरिँदा आश्चर्यमा परेको र त्यसैको विरोधस्वरूप सदनमा कडा रूपमा प्रस्तुत हुनुपरेको बताएका छन् । ‘अतिचारै भएपछि त के गर्ने त ?’, राईले भने ।
घटनापछि सदनमा नाराबाजी र चर्काचर्की बढेपछि सभामुख विष्टले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । प्रतिपक्षी दलहरूले सभामुखको भूमिका निष्पक्ष नभएको र संसदीय मर्यादा उल्लंघन भएको आरोप लगाउँदै आएका छन् । विपक्षीहरूले आफ्नो माग सम्बोधन नभएसम्म सदन चल्न नदिने अडान राखेका छन् ।