
आगामी एसियाली खेलकुदको महिला क्रिकेट छनोट प्रतियोगितामा बिहीबार इन्डोनेसियाले नेपाललाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएको हो ।
आफ्ना दुवै ओपनरलाई सस्तैमा गुमाएको इन्डोनेसियाका लागि चौथो नम्बरकी ब्याट्र नि पुटु आयु साकारिनीले अविजित ५६ रनको योगदान गरिन् ।
टोलीको कप्तानसमेत रहेकी उनले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै ६२ बलमा तीन चौका पनि प्रहार गरिन् । नि लु डेवीले पनि टोलीको खातामा २३ रन थपिन् ।
नि मादे पुत्री सुवान्देवी पनि १३ रन जोडिन् । इन्डोनेसियाली टोलीले अतिरिक्त रूपमा पनि १७ रन पाएको थियो । नेपाली टोलीकी बलर मनिषा उपाध्यायले दुई र रिया शर्माले एक विकेट लिइन् ।
जारी छनोट प्रतियोगितामा नेपाल र इन्डोनेसिया दुवैले आफ्नो दोस्रो खेल खेलेका हुन् । यसअघि, बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले हराएको थियो ।
यो खेलमा विजयी भए नेपाली टोली सजिलै प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ । योसँगै नेपाली टोलीको आगामी एसियाली खेलकुद खेल्ने सम्भावना पनि बलियो बन्नेछ ।
छनोट प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ‘ए’मा थाइल्यान्ड, मलेसिया र हङ्कङ छन् । समूह ‘बी’मा नेपाल, चीन र इन्डोनेसिया रहेका छन् ।
मलेसियाको क्वालालम्पुरमा जारी प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
यो छनोट प्रतियोगिताबाट तीनवटा टोली जापानमा आयोजना हुने २० औं एसियाली खेलकुदमा छनोट हुनेछन् ।
छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली र तेस्रो हुने टोलीले एसियाली खेलकुदमा स्थान पक्का गर्ने प्रावधान छ ।
एसियाली खेलकुदको महिला क्रिकेटमा नौ टोलीको सहभागिता रहने छ । ६ वटा टोली यसअघि नै एसियाली खेलकुदमा छनोट भइसकेका छन् ।
जापानले आयोजकका रूपमा एसियाली खेलकुद खेल्नेछ । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानले आईसीसीको पूर्णकालीन सदस्य राष्ट्रको रूपमा सहभागिता जनाउने छन् ।
आगामी एसियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ ।