२७ असार २०८३, शनिबार

प्रधानमन्त्री जनताप्रति उत्तरदायी हुनुभएन, गैरजिम्मेवार व्यवहार भयो- कांग्रेस

जेठ १४, २०८३
काठमाडौं
प्रधानमन्त्री जनताप्रति उत्तरदायी हुनुभएन, गैरजिम्मेवार व्यवहार भयो- कांग्रेस

नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहमा जनताप्रतिको उत्तरदायित्त्वको कमी रहेको बताएको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको व्यवहारबारे बैठकमा छलफल भएको बताइन् ।

उनले प्रधानमन्त्रीको व्यवहारलाई गैरजिम्मेवारपूर्ण व्यवहारकै रूपमा लिएको समेत बताइन् । 

गणतन्त्र दिवस समारोहलाई सम्बोधन नगर्ने, सदनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिने लगायतका प्रधानमन्त्रीको व्यवहारका विषयमा छलफल भएको थापाले बताइन् । 

यस्तै, प्रमुख सचेत थापाले सदनमा सत्तापक्षले पेलेर अघि बढ्न खोजेको टिप्पणी गरिन् । निर्णय सत्तापक्षकै हुने भए पनि विपक्षीका आवाज सुनिनुपर्ने थापाको भनाइ छ । 

हिजोका दिनमा विपक्षीका आवाज सुन्ने परम्परा रहे पनि अहिले त्यस्तो नदेखिएको उनको भनाइ छ । 

‘उहाँहरूसँग झण्डै दुई तिहाइको बहुमत छ । निर्णय भनेको सरकार पक्षकै हुने हो, यसमा दुईमत छैन । तर पनि हिजो राय सुझाव लिइन्थ्यो, सबै विपक्षीको कुरा सुनिन्थ्यो । त्यो आवाजहरू पनि त्यहाँ समेटिन्थ्यो । तर अहिले त्यो देखिराको छैन’, उनले भनिन्, ‘किनभने प्रतिपक्षले खोजेको प्रधानमन्त्रीसँगको जवाफ पनि पाइरहेको छैन । जवाफ लिनुपर्ने आमजनताको पनि अधिकार हो ।’

सरकारप्रतिको जनताको उत्साह निराशामा परिणत भइरहेको थापाले बताइन् । उनले प्रधानमन्त्री जनता र सदनप्रति  जवाफदेही र जिम्मेवार हुनुपर्ने बताइन् । 

‘जनतामा अस्तिसम्म जुन उत्साह थियो, एक किसिमको निराश भइसकेको अवस्था छ । सबै सांसदको बराबर भूमिका हो भन्ने जुन अभ्यास गर्दै आएका थियौं त्यो अभ्यास तोडिएको छ जस्तो लाग्छ’, थापाले भनिन्, ‘जसरी पेलेर अघि बढ्नुभएको छ,  यसमा हाम्रो पनि ध्यानाकर्षण भएको छ ।’

कमेन्ट गर्नुहोस्