
आज (शुक्रबार) देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ।
जननिर्वाचित पहिलो संविधान सभाबाट विक्रम संवत् २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनामा गणतन्त्र दिवस मनाउने गरिएको हो ।
गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो ।
गणतन्त्र दिवस मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।
सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट मार्चपास्ट र विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ ।
त्यस अवसरमा गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरिनेछ ।
कार्यक्रमलाई प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भने सम्बोधन गर्ने/नगर्ने निश्चित छैन ।
गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरिसकेका छन् ।
यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास थियो । तर, यसपटक राष्ट्रपतिलाई सम्बोधन गर्न भनी पत्राचार गरिएको हो ।
दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।